तपाईँ सुन्दै हुनुहुन्छः

मुस्लिम समुदायले ताजिया पर्व वीरगंजमा भव्यरुपमा मनाए

वीरगंज । मुस्लिम समुदायको प्रमुख धार्मिक पर्वमध्ये एक ताजिया (दाहा) आज वीरगंजमा धूमधामका साथ मनाइएको छ । 

दाहा पर्व इस्लाम धर्मावलम्बीहरूले इमाम हुसैनको शहादतको सम्झनामा मनाउने गर्छन् । शहादतको सम्झना मोहरम महिनाको दशौँ दिन अर्थात् आशुराको दिनमा विशेष रूपमा पालना गरिन्छ ।

ताजिया पर्वले धार्मिक सहिष्णुता, बलिदान र एकताको सन्देश बोकेको छ । ताजिया पर्व मुस्लिम समुदायको शिया सम्प्रदायसँग विशेष रूपमा जोडिएको छ । इस्लामका तेस्रो खलिफा हजरत इमाम हुसैनको स्मरणमा मनाइन्छ । हुसैनले सत्य, न्याय र मानवताको रक्षाका लागि आफ्नो जीवन बलिदान दिएका थिए । 

सन् ६८० मा इराकको कर्बलामा भएको ऐतिहासिक युद्धमा इमाम हुसैन र उनको परिवार तथा अनुयायीहरूले शहादत प्राप्त गरेका थिए । घटनालाई मुस्लिम समुदायले गहिरो श्रद्धा र सम्मानका साथ सम्झने गर्दछन् ।

ताजिया पर्वमा इमाम हुसैनको समाधिस्थलको प्रतीकका रूपमा ‘ताजिया’ बनाइन्छ । बाँस, काठ, कागज र विभिन्न रङ्गिन सामग्रीहरूबाट सजाइएको ताजियालाई विभिन्न रीतिरिवाज र जुलुसका साथ शान्तिपूर्ण रूपमा नदी वा समुद्रमा विसर्जन गरिन्छ ।

वीरगञ्जमा ताजिया पर्वलाई भव्य रूपमा मनाउने परम्परा रही आएको छ । यहाँका मुस्लिम समुदायले जुलुस, प्रार्थना र धार्मिक विधिहरूका साथ यो पर्व मनाउँछन् । जुलुसमा सहभागीहरूले ताजिया बोकेर विभिन्न मस्जिद र धार्मिक स्थलहरूमा पुग्छन् । यस अवसरमा समुदायका सदस्यहरूले एक अर्कालाई सहानुभूति, एकता र धार्मिक सहिष्णुताको सन्देश आदान प्रदान गर्छन् ।

विगतमा यस्ता पर्वहरू मनाउने क्रममा देखिएको तनावपूर्ण अवस्थाबाट पाठ सिक्दै यस वर्ष ताजिया पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको थियो । वीरगञ्ज महानगरपालिका र सुरक्षा निकायहरूले पर्वको व्यवस्थापन र समन्वयका लागि पूर्ण सक्रियता देखाएका थिए । 

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षको भूमिका आज महत्वपूर्ण देखिएको र धार्मिक पर्वहरू शान्तिपूर्ण ढङ्गले मनाउन सबै समुदायको जिम्मेवारी रहेको बताउनुभयो । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगतका घटनाहरूबाट सिक्दै यसपालिको ताजिया पर्वमा हामीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएका छौँ र सबै समुदायसँगको सहकार्यमा यो पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभयो ।

मुस्लिम समुदायका अगुवाहरूले ताजिया पर्वले धार्मिक एकता र सामाजिक सद्भावलाई बलियो बनाएको बताउँदै अन्य समुदाय पनि पर्वमा सहभागी भएर धार्मिक सहिष्णुता प्रदर्शन गरेकोमा खुसी ब्यक्त गर्नुभयो ।

वीरगंज जस्तो बहु सांस्कृतिक र बहु धार्मिक सहरमा पर्वले विभिन्न समुदायबिच आपसी समझदारी र सम्मानको भावनालाई प्रोत्साहन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button