तपाईँ सुन्दै हुनुहुन्छः

डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु

झापा । झापामा डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत ११ वर्षीया बालिकाको मृत्यु भएको हो । झापा शिवसताक्षीका सुमन राईकी छोरी सुरविरा राईलाई स्वास्थ्यमा समस्या भएपछि बिहीबार बीएण्डसीमा भर्ना गरिएकोमा हिजो बिहान उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिनु भयो ।

यस वर्ष पहिलो पटक झापामा डेंगुबाट मृत्यु भएको हो । गत वर्ष झापामा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको थियो । मनसुन सुरु भएसँगै झापामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । डेंगुबाट संक्रमित हुनेहरूमा अधिकांश बिर्तामोडका रहेका छन् । फोकल पर्सन बरालका अनुसार हाल बीएण्डसीमा ४८, दमकमा १ र गौरादहमा ६ जना डेंगु संक्रमित उपचारमा रहेका छन् ।

विगतका वर्षहरू जस्तै यस वर्ष पनि डेंगुको संक्रमण बढ्दै गएको छ । डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ तर झापामा बाह्रै महिना डेंगु देखिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button