नेपाल प्रहरीलाई स्वतन्त्र, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ । सांसदहरुले नेपाल प्रहरीलाई स्वतन्त्र, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल प्रहरी विधेयक माथिको छलफलमा संशोधनकर्ता सांसदहरुले प्रहरीको भूमिकालाई निष्पक्ष र जनमुखी बनाउने कुरालाई मुख्य रुपमा विधेयकमा ध्यान दिइनुपर्ने बताउनुभयो ।

सांसदहरुले प्रहरीलाई स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा केन्द्रित गराउन आवश्यक रहेको, प्रहरीप्रति जनताको विश्वास जगाउने, राजनीतिक हस्तक्षेप अन्त्य गर्नेगरी विधेयकलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले प्रहरीको सरुवा बढुवा सम्बन्धी विधेयकमा आएको व्यवस्थाले थप जटिल बनाउने भन्दै ज्येष्ठताको आधारमा बढुवा गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने, तल्ला तथा आधारभूत तहमा रहेको प्रहरी र जवानको सेवा सुविधा लगायतमा विशेष ध्यान दिनुपर्ने र प्रहरीतर्फ युवाको आकर्षण बढाउने गरी विधेयक आउनुपर्नेमा पनि सांसदहरुले जोड दिनुभयो ।
बैठकमा संशोधनकर्ता सांसदहरु भानुभक्त जोशी, छिरिङ लामा डम्डुल, पूर्ण बहादुर घर्ती, नारायण शर्मा, रामप्रकाश चौधरी, सुनिता बराल, प्रेमबहादुर महर्जन, ध्रुवबहादुर प्रधान, ठाकुरप्रसाद गैरे, राजेन्द्र बजगाई, लेखनाथ दाहाल, शक्तिबहादुर बस्नेत र हितबहादुर तामाङले धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्