तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट ३ जना सम्मानित

बाजुरा । बाजुरामा तीन जना उत्कृष्ट कृषक सम्मानित हुनुभएको छ । आइतबार कृषि ज्ञान केन्द्र बाजुराले धान दिवसको अवसरमा आयोजना गरेको एक औपचारिक कार्यक्रमबिच ३ जना कृषकहरूलाई नगद २५ हजार पुरस्कारसहित सम्मान गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहानीका अनुसार जिल्लाभरबाट कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने तीन जना कृषकलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार बाट सम्मान गरिएको हो । तरकारी खेती तर्फ बुढीनन्दा नगरपालिका३ का रण बहादुर बोहरा, र बडीमालिका नगरपालिका८ का लाल बहादुर अयडी सम्मानित हुनुभएको छ भने बाख्रा पालनतर्फ बुढीगंगा नगरपालिका१ की सुशीला थापा सम्मानित हुनुभएको छ।

सम्मानित हुनुभएका कृषकहरूले गाउँमै केही गरेर स्वरोजगार बन्नुपर्छ भनेर आफूहरू व्यवसायीक तरकारी खेती र पशुपालनमा लागेकाले यो सम्मानले थप हौसला मिलेको बताउनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले दिनप्रतिदिन खेती योग्य जमिन बाँझो हुँदै गएकाले यहाँको अर्ग्यानिक धान उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले सम्मानित हुनुभएका उत्कृष्ट कृषकहरूबाट अरू कृषकहरूले समेत प्रेरणा लिनुपर्ने बताउनुभयो ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले उन्नत बीउ प्रयोग गरेर कृषि अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत रुपमा पालिकाले विभिन्न कार्यक्रम गरी रहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button