बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
बाजुरा । बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागी, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता ‘ भन्ने नाराका साथ बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

विशेष गरी बालबालिकाहरूले सरकारले तोकेको सबै प्रकारका खोपहरू निश्चित समय अवधिभित्र पूरा गरे पश्चात् पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताउनुभयो।
बाजुरामा जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई १३ खोप र किशोरीलाई एच.पी.भी खोप लगाएको निश्चितपछि यो वर्ष घोषणा गरिएको हो । यो वर्ष मात्र नभएर प्रत्येक वर्ष खोपलाई निरन्तरता दिइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला खोप समन्वय समिति बाजुराको आयोजनामा भएको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी र ९ वटै पालिकालाई सम्मान गरिएको छ १ जिल्लालाई पूर्ण खोप सुनिश्चितका लागि सहयोग पुर्याउने व्यक्ति तथा पालिकालाई सम्मान गरिएको हो ।
जसमा स्वास्थ्य स्वयंसेविका तुला खड्का र कन्जडी रोकायालाई नगद ५ हजार सहित सम्मान गरिएको छ । खड्का र रोकायालाई उत्कृष्ट कार्यको आधारमा सम्मान गरिएको हो ।
स्वास्थ्यकर्मी हिमाली गाउँपालिकाबाट बिमला पाण्डे, खप्तड छेडेदह गाउँपालिकाबाट राजु सुनार, स्वामिकार्तिकबाट कमल कटेल, जगन्नाथबाट भावना शाही, गौमुल बाट बिमला रोकायालाई नगद ५ हजारसहित सम्मान गरिएको छ । बुढीगंगा नगरपालिकाबाट हस्त बहादुर कडायत, त्रिवेणी नगरपालिकाबाट लक्ष्मी ऐडि, बुढीनन्दा नगरपालिकाबाट सुशीला गिरि सम्मानित भएका छन् ।
प्रमुख जिल्ला अधिकार मेघनाथ पाध्याले आज पूर्ण खोप भयो भनेर चुप बस्न नहुने बताउनुभयो ।
जिल्ला खोप समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले कार्यक्रममा सम्मानितलाई बधाई दिँदै पूर्ण खोप सुनिश्चिततामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
बाजुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने जिल्लामा डोटीपछि सुदूरपश्चिमकै दोस्रो जिल्ला भएको छ।
प्रतिक्रिया राख्नुहोस्