तपाईँ सुन्दै हुनुहुन्छः

हरियाली कायम गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ: मन्त्री ठकुरी

पाटन ,ललितपुर ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि वृक्षारोपणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

‘हरियाली बढाऔँ, हिमाल जोगाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा वन तथा भू–संरक्षण विभागद्वारा आज गोदावरीमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री ठकुरीले सरकारले वन, वन्यजन्तु र जडीबुटीको संरक्षण गर्दै बताउनुभयो । 

उहाँले वनको संरचनामा रहेका कानूनी जटिलतालाई समाधानका लागि  पुरानो ऐनलाई समयसापेक्ष संशोधन र परिवर्तनको तयारी भइरहे जानकारी दिनुभयो । मन्त्रीले ठकुरीले सरकारले एक घर दुई रुख अभियान अगाडि बढाउने तयारी गरिरहेको उल्लेख गर्दै  वन क्षेत्रमा फलफूलजन्य बोटबिरुवा रोपेर मानव–वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले मानिसको जन्मदेखि मृत्युपर्यन्त रुखको महत्व रहेको भन्दै समृद्धिको लागि वृक्षारोपण आवश्यक भएको बताउनुभयो । 

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले देशको ४६ प्रतिशत भूगोल वन क्षेत्रबाट जम्मा रु दुई अर्ब आम्दानी लिन नसकेको बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बाढिपहिराले क्षतविक्षत बनाएको स्थानमा वृक्षारोपण र पुनः निर्माणलाई जोड दिँदै बगरमा परिणत भएका मानिसका बस्तीहरूलाई संरक्षण गर्न जोड दिनुपर्ने बताउनुभयो । 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वनलाई प्रभावकारी रुपमा संरक्षण गर्न र वनबाट उत्पादित सामग्री सहज रुपमा उपयोग गर्न सक्ने गरी वनसम्बन्धी ऐन तथा नियमावलीहरू संशोधन गरिनुपर्नेमा जोड दिनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले नेपालका एक करोड ६२ लाख उपभोक्ता वनमा आबद्ध भएको बताउनुभयो । उहाँले देशको अर्थतन्त्रमा सामुदायिक बनको योगदानलाई अभिवृद्धि गर्न जोड दिने बताउनुभयो ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले शून्य कार्बन उत्सर्जनअन्तर्गत तीन करोड वृक्षारोपणलाई जोड दिँदै ७७ जिल्लामा रहेका ८४ वटा डिभिजन वन कार्यालयमार्फत निःशुल्क बिरुवा वितरण हुने जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button