तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक वन आम्दानीबाट सीपमूलक तालिम

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई ४५ दिने निःशुल्क ड्राइभिङ तालिम प्रदान गरेको छ । 

समूहले आफ्नो वार्षिक कार्यक्रमअनुसार जीविकोपार्जनमा सघाउ पुर्‍याइ रोजगार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको हो ।

समूहका अध्यक्ष रामबहादुर कामीका अनुसार वन ऐन, २०७६ को प्रावधानबमोजिम यो कार्यक्रम आयोजना गरिएको हो । ऐनले सामुदायिक वनको आम्दानीको निश्चित हिस्सा वन संरक्षणबाहेक विपन्न मुखी तथा सामूहिक हितका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअन्तर्गत तालिम दिइएको उहाँले बताउनुभयो ।

गत वैशाख १३ गते सुरु भई जेठ २६ गते सम्पन्न भएको उक्त ४५ दिने तालिम मनकामना ड्राइभिङ सेन्टर मसुरियाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको थियो । तालिममा सहभागीलाई आज एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ । 

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सवडिभिजन वन कार्यालय मसुरियाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक विकासमा खेलेको भूमिका प्रेरणादायी रहेको बताउनुभयो । उहाँले यस्ता सकारात्मक कामको प्रचार गरी अन्य समूहलाई पनि प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा न-७ का अध्यक्ष आशाराम चौधरीले यस्ता सीपमूलक तालिमले युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने बताउँदै आवश्यक सहयोगका लागि वडा र पालिकाबाट समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिमको प्रभावकारिता पनि उच्च देखिएको मनकामना ड्राइभिङ सेन्टरका व्यवस्थापक तथा प्रशिक्षक नैनबहादुर विष्टले बताउनुभयो । दुई सय २५ घण्टाको तालिम अवधिमा सहभागीले जिप/कार चलाउने सीपका साथै सैद्धान्तिक ज्ञान, ट्रायल अभ्यास र सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० परीक्षाको तयारी गरेका थिए । 

तालिमपछि १८ जनाले लाइसेन्सको लिखित परीक्षा दिएकामा १७ जना उत्तीर्ण भएका थिए । तीमध्ये पाँच जनाले प्रयोगात्मक परीक्षा (ट्रायल)समेत पास गरी लाइसेन्स प्राप्त गरिसकेका छन् भने बाँकी पनि लाइसेन्स लिने प्रक्रियामा छन् । सामुदायिक वनले ड्राइभिङका अतिरिक्त पलम्बिङ, सिलाइ कटाइ र ब्युटिसियनजस्ता अन्य सीपमूलक तालिम पनि सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button