दार्चुलाका तीन कृषकलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कार
दार्चुला । दार्चुलाका तीन उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मान गरिएको छ।

विगत एक दशकभन्दा लामो समयदेखि व्यावसायिक कृषि गरिरहेका कृषकहरूलाई कृषि ज्ञान केन्द्र दार्चुलाले सोमबार आयोजित कार्यक्रममा पुरस्कृत गरेको हो।
पुरस्कृत हुनेमा शैल्यशिखर नगरपालिका–३ का माहुरी पालक प्रजापति भट्ट, महाकाली नगरपालिका–१ का बङ्गुर तथा कुखुरापालक अमरसिंह महरा र मालिकार्जुन गाउँपालिका–८ का तरकारी किसान अनिल लोहार रहेका छन्।
कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायका अनुसार ती कृषकलाई जनही नगद २५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपले पुरस्कार हस्तान्तरण गर्नुभयो।
कृषक अनिल लोहारले पाँच रोपनी क्षेत्रफलमा सिजनअनुसार तरकारी खेती गर्दै आउनुभएको छ। उहाँले उत्पादन गरिएको तरकारी गाउँपालिका क्षेत्रका विद्यालयहरूको दिवा खाजा कार्यक्रममा समेत आपूर्ति गर्दै आउनुभएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा पोली हाउसमा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएका लोहारले पुरस्कारले थप हौसला दिएको प्रतिक्रिया दिनुभयो।
त्यसैगरी, प्रजापति भट्टले शैल्यशिखर नगरपालिका–३ मा ५०० घार माहुरी पालन गर्दै वार्षिक १५ सय किलोग्राम मह उत्पादन गर्दै आउनुभएको छ। उहाँले सेरेना जातको माहुरीबाट वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ। कृषि ज्ञान केन्द्रले उहाँलाई तालिम तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया राख्नुहोस्