रोङ गाउँपालिकाका ७२ घर परिवारले पाए जग्गाधनी लालपुर्जा
इलाम । इलाम रोङ गाउँपालिकाका ७२ घर परिवारले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन् ।

वर्षैदेखि बसोबास गर्दै आएका तर जग्गा धनी लालपुर्जा नपाएका भूमिहीन अव्यवस्थित बसोबास गरिरहेका इलामको रोङ गाउँपालिका–१ शान्तिपुरका ७२ अव्यवस्थित बसोवासीवालाको खुसीको सिमानै छैन । लालपुर्जा पाएपछि त्यस क्षेत्रका स्थानीयवासी निक्कै हर्षित भएका हुन । लालपुर्जा पाएपछि स्थानीय दिलबहादुर सुब्बाको हर्षको सिमानै छैन ।
भूमि समस्या समाधान आयोगले रोङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको हो । भूमि समस्या समाधान आयोग इलामका अध्यक्ष प्रकाश अधिकारीले रोङ गाउँपालिकासँग समन्वय गरेर भूमिहीनलाई लालपुर्जा वितरण गरेको र यो कार्य जिल्लाका अरू पालिकामा पनि चाँडै गर्ने बताउनुभयो ।
रोङ गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले निवेदन दिएका मध्ये हालसम्म एक सय ५० जनाको निर्णय भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
पहिलो चरणमा ७२ जनालाई जग्गा धनी लालपुर्जा दिइएको र बाँकी ७८ जनाको पनि क्रमिक रुपमा नियम अनुसार नै लालपुर्जा वितरण गरिने र असार मसान्तसम्म जिल्लाका करिब सात सय जनालाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्