तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: विनियोजन विधेयकमाथि उठेका प्रश्नमा मन्त्रीहरूको जवाफ क्रम जारी  

'बिपिन जोशीको खोजी र इजरायलमा नेपालीको सुरक्षा सरकारको प्राथमिकतामा'

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको समूहगत छलफलमा उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ।  

बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद शिव नेपालीलाई बोल्न समय दिनुभयो। सांसद नेपालीले उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग राख्नुभयो। माग सम्बोधन नभएसम्म विरोध जारी रहने भन्दै रास्वपा र राप्रपाका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै ऊर्जा मन्त्री दीपक खड्काले विद्युत् निर्यातमार्फत व्यापार घाटा कम गर्न सकिने भएकाले ऊर्जा बजेट त्यसैमा केन्द्रित गरिएको बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रमा फड्को मार्ने खालका योजना र कार्यक्रम समेटिएको उल्लेख गर्नुभयो।

खानेपानी मन्त्रालयको पक्षमा जवाफ दिनुहुँदै मन्त्री प्रदीप यादवले सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा सुरक्षित खानेपानीको पहुँच पुर्‍याउनु चुनौतीपूर्ण भए पनि स्रोत र साधनको अधिकतम उपयोग गरी लक्ष्यमा पुग्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। तीनै तहका सरकारबीच समन्वय गरी खानेपानी पहुँचलाई निरन्तर अगाडि बढाइने पनि उहाँले बताउनुभयो।

परराष्ट्र मन्त्रालयतर्फ उठेका प्रश्नमा जवाफ दिनुहुँदै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इरानमा रहेका १६ नेपालीमध्ये ११ जना फर्किने क्रममा रहेको र उनीहरू भोलि भारत पुग्ने जानकारी दिनुभयो। बाँकी ५ जना विभिन्न कारणले जेलमा रहेको र उनीहरूको पनि उद्धार प्रयास जारी रहेको बताउनुभयो। उहाँले इजरायलमा रहेका नेपालीहरूको सुरक्षा र विपिन जोशीको रिहाइका लागि सरकारले सम्पूर्ण प्रयास गरिरहेको उल्लेख गर्नुभयो।

त्यस्तै वन तथा वातावरण मन्त्रालयको तर्फबाट मन्त्री ऐनबहादुर शाहीले काष्ठजन्य वस्तुमा आत्मनिर्भर भई निर्यात गर्न सक्ने गरी योजना बनाइएको जानकारी दिनुभयो। निकुञ्ज संरक्षण, पर्यापर्यटन प्रवर्द्धन, वृक्षारोपण, फलफूल उत्पादन तथा वातावरण संरक्षणका लागि विशेष बजेट व्यवस्था गरिएको पनि मन्त्री शाहीले स्पष्ट पार्नुभयो।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले थप प्रश्न उठाइरहेका छन् भने मन्त्रीहरूको जवाफ दिने क्रम जारी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button