प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथि छलफल जारी
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विरोधका बीच विनियोजन विधेयक २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहकृत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ ।
प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर बिरोध जनाउनुभएपछि सभामुख देवराज घिमिरेले सांसद शिव नेपालीलाई बोल्न समय दिनुभयो ।
सभामा बोल्दै सांसद शिव नेपालीले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग गर्नुभयो ।
सांसद नेपालीले आफूहरूको माग सम्बोधन नभएसम्म बिरोध जारी रहने भन्दै बैठक बहिष्कार गरेको भनेपछि रास्वपाका सांसदहरु बैठक बहिष्कार गरी बाहिरिनुभयो ।
त्यस्तै राप्रपाका सांसदहरुले पनि बैठक बहिष्कार गरी बाहिरिनुभयो ।
जारी रहेको प्रतिनिधि सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगत उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै ऊर्जा मन्त्री दीपक खड्काले ऊर्जाको क्षेत्रमा निकै फड्को मार्ने गरी योजना तथा कार्यक्रम बनाइएको बताउनुभयो ।
नेपालले बिजुली निर्यात गरी मुलुकको ब्यापार घाटा घटाउन सकिने भएकाले ऊर्जा क्षेत्रको बजेट त्यस तर्फ केन्द्रित रहेको पनि मन्त्री खड्काले स्पष्ट पार्नुभयो ।
यस्तै बैठकमा खानेपानी मन्त्रालय अन्तरगत उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै खानेपानी मन्त्री प्रदीप यादवले सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा सुरक्षित खानेपानीको पहुँच पुर्याउनु चुनौतीपूर्ण रहेपनि उपलब्ध स्रोत साधनको प्रयोग गरी काम गर्न बजेट ल्याइएको बताउनुभयो ।
तीनै तहको सरकारको समन्वयमा खानेपानी सहज रुपमा उपलब्ध गराउने कामलाई निरन्तर रुपमा अघि बढाइने पनि मन्त्री यादवले स्पष्ट पार्नुभयो ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले थप प्रश्न गर्ने तथा मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्