तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: रास्वपा–राप्रपाको विरोधका बीच विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडाैँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विरोधका बीच विनियोजन विधेयक २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहकृत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ । 

प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर बिरोध जनाउनुभएपछि सभामुख देवराज घिमिरेले सांसद शिव नेपालीलाई बोल्न समय दिनुभयो ।

सभामा बोल्दै सांसद शिव नेपालीले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग गर्नुभयो ।

सांसद नेपालीले आफूहरूको माग सम्बोधन नभएसम्म बिरोध जारी रहने भन्दै बैठक बहिष्कार गरेको भनेपछि रास्वपाका सांसदहरु बैठक बहिष्कार गरी बाहिरिनुभयो । 

त्यस्तै राप्रपाका सांसदहरुले पनि बैठक बहिष्कार गरी बाहिरिनुभयो । 

प्रतिनिधि सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगत उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै ऊर्जा मन्त्री दीपक खड्काले ऊर्जाको क्षेत्रमा निकै फड्को मार्ने गरी योजना तथा कार्यक्रम बनाइएको बताउनुभयो । नेपालले बिजुली निर्यात गरी मुलुकको ब्यापार घाटा घटाउन सकिने भएकाले ऊर्जा क्षेत्रको बजेट त्यस तर्फ केन्द्रित रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले प्रश्न गर्ने तथा मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button