तपाईँ सुन्दै हुनुहुन्छः

टि–१० क्रिकेट: प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी

रुपन्देही । रुपन्देहीको भैरहवामा शनिबारदेखि ‘एसियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजना तथा एसियन बुद्ध होटल, भैरहवाको मुख्य प्रायोजनमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको हो । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले हराएको छ । 

टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ६ विकेट गुमाएर १ सय ५ रनको योगफल बनायो । प्रोफेसनलका भुवन गैरेले ३६, सुरज खड्काले अविजित १६ र मेहफोज आलमले १२ रन बनाए । मायादेवीका निरज मौर्य, अर्जुन करौस र आरिफ खानले समान २–२ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको मायादेवीले निर्धारित खेलमा जम्मा ४४ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न प्रोफेसनलका जय प्रताप यादवले २ तथा करण केवट, अख्तर हुसेन र सुरज खड्काले समान १–१ विकेट लिए । मायादेवीका ननदलाल यादवले अविजित २६ र निरज मौर्यले १४ रन बनाए । प्रोफेसनलका जय प्रताप यादव प्लेयर अफ द म्याच बने ।

त्यस्तै दोस्रो खेलमा टिम रेस्पोन्स लुम्बिनीले मर्निङ क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको टिम रेस्पोन्सले ६ विकेट गुमाएर ८९ रन बनायो । उसका लागि जावेद खानले ७३ रनको योगदान गरे । बलिङमा मर्निङ क्रिकेट क्लबका प्रवेज अन्सारीले ३, सिजन मकाजुले २ र आकाश थापाले १ विकेट लिए । 

जवाफमा मर्निङ क्रिकेट क्लबले ४ विकेट गुमाएर ८६ रन मात्रै जोड्यो । उसका लागि अनिल जैसवालले ३० र दामोदर शर्माले २० रन बनाए । बलिङमा टिम रेस्पोन्सका फरहाद खानले २ विकेट लिए । खेलमा टिम रेस्पोन्स लुम्बिनीका जावेद खान प्लेयर अफ द म्याच भए ।

यही असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरू गरी १४ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्रदान गरिनेछ । 

आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ प्रदान गरिने छ । 

त्यस्तै उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको शनिबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख ९मेयर० इश्तियाक अहमद खाँले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button