तपाईँ सुन्दै हुनुहुन्छः

पछिल्लो समय योग अभ्यासप्रति आकर्षण बढ्दै 

नवलपरासी,पश्चिम् । नियमित ध्यान र साधनाले स्वस्थ रहनसँगै तनाव व्यवस्थापनमा सहयोग गर्ने भएपछि पछिल्लो समय बर्दघाटमा योग अभ्यासप्रति आकर्षण बढ्दै गएको छ ।  

योग अभ्यास र साधनाले शारीरिक मानसिक स्वास्थ्य राख्नका लागि सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने भएपछि युवादेखि वृद्धवृद्धासम्म योगतर्फ आकर्षित भएका छन् ।

मानिसको व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई शारीरिक रुपमा स्वस्थ राख्नसँगै तनाव व्यवस्थापनमा गर्न सहयोग गर्ने भएपछि विगत ७ बर्ष  वर्षदेखि पतञ्जलि योग समिति त्रिनेत्र धाम जिनिरेभारले योग अभ्यास सिकाउँदै आएको योग गुरु नरेश पङ्गेनीले बताउनुभयो ।

बर्दघाट नगरपालिकाको सहयोग, त्रिनेत्र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको आयोजना, पतञ्जलि योग समिति त्रिनेत्र धाम जिनिरेभारको सहकार्यमा ५ दिने निःशुल्क बृहत् योग विज्ञान शिविरको आज अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारी समापन गरिएको छ । शिविरमा उल्लेख सहभागिता रहेको थियो ।

बर्दघाट नगरपालिकामा पछिल्लो समय योगको महत्व बढेपछि यतिबेला सिङ्गो नगर नै योगमय बनेको छ । नियमित योग अभ्यासले अहिले शरीरलाई अर्कै ऊर्जा थपिएको र सबैलाई योग गर्न सुझाव दिनुहुन्छ बर्दघाट १४ का स्थानीय माधव तिवारी । 

बर्दघाट नगरपालिकालाई स्वास्थ्य नगर बनाउने उद्देश्य अनुरुप नगरपालिकाले योगका निम्ति पनि बजेट बिनियोजन गरिरहेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

बिहानको समयलाई योग र साधनामा लगाउँदा शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन सहयोग पुग्ने गरेको भन्दै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “दिनभर आफ्नो काम गरे पनि बिहान केही समय व्यक्तिगत स्वास्थ्यका लागि दिनुपर्छ भन्ने महसुस भएको छ त्यसैले सबैलाई योगमा जोडिन आग्रह गर्छु ।”

“नियमित ध्यान र योग गर्नाले शारीरिक स्वास्थ्य र फुर्तिलो बनाउन सहयोग गर्दछ ।” योग र ध्यानले शारीरिक स्फूर्तिसँगै सकारात्मक सोचको विकासमा मद्दत पुग्ने उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनुभयो ।

पछिल्लो समय खानपान र जीवनशैलीका कारण प्राय मानिसहरूको शरीर भद्दा हुने, अस्तव्यस्त र अस्वस्थ रहने भएकाले आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्ने योग साधकहरूको भनाई छ । बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलतबाट बच्नको लागि समेत योग आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button