प्रतिनिधिसभा बैठकमा रास्वपा: प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ ।
सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिन थाल्नुभएको छ ।
यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि सो दलका सांसद पुनः बैठकमा आउनुभएको छ । कहिले नीलो गलबन्दी लगाएर त कहिले बेल अगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले आज सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा भित्रिने गरेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा बेल अगाडि उभिएको र सत्ता पक्षका सांसद बोल्न थालेपछि आफूहरू बैठकबाट बाहिरिएको बताउनुभयो ।
“सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ, हामी संसद् भवनमै छौँ, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौँ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्