तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । 

चालु आव २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत अर्थात् रु १३ अर्ब ३३ करोड चार लाख खर्च गरेको हो ।

सो अवधिमा प्रदेश सरकारले चालुतर्फ रु छ अर्ब ९७ करोड दुई लाख र पुँजीगततर्फ रु छ अर्ब ३६ करोड दुई लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रु पाँच अर्ब ७९ करोड ३३ लाख बजेट खर्च गरेको छ । 

सामाजिक विकास मन्त्रालयले रु दुई अर्ब ८६ करोड ७३ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ९९ करोड ६७ लाख र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ९२ करोड ७६ लाख खर्च गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख जोशीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १६ करोड ७५ लाख, आर्थिक मामिला मन्त्रालयले रु ११ करोड ९२ लाख र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु पाँच करोड २१ लाख खर्च गरेको छ । 

त्यस्तै, प्रदेश व्यवस्थापिकाले रु १३ करोड ४१ लाख, प्रदेश नीति तथा योजना आयोगले रु दुई करोड ११ लाख र प्रदेश लोकसेवा आयोगले रु ४४ लाख खर्च गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल रु ३१ अर्ब ६२ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये, चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button