तपाईँ सुन्दै हुनुहुन्छः

योगले विश्वशान्तिको भावना बलियो बनाउन सहयोग पुग्छ: उपराष्ट्रपति यादव

काठमाडौँ ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले योगले विश्वशान्ति, सहिष्णुता र सहकार्यको भावनालाई बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय योग दिवस, २०२५ को अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै योग शारीरिक अभ्यास मात्र नभई  एक जीवनपद्धति पनि भएको उल्लेख गर्नुभएको छ । 

उहाँले भन्नुभएको छ, “योग शारीरिक अभ्यास मात्र नभई यो एक जीवनपद्धति पनि हो । योगले आत्मा, शरीर र मानवबीचको सन्तुलन स्थापित गरी मानव जीवनलाई शान्त, समृद्ध र अनुशासित बनाउन सघाउँदछ ।”

सम्पूर्ण मानव समुदायमा योगको महत्व, लाभ र समग्र जीवनमा यसको प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुन २१ मा यो दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ । योगले शारीरिक व्यायाम, श्वासप्रश्वासको नियन्त्रण, ध्यान तथा नैतिक अनुशासनलाई आधार मानेर विकास गरिएको योग प्रणालीले हाम्रो दैनन्दिन जीवनलाई आध्यात्मिक, भावनात्मक र मानसिक दृष्टिले समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उपराष्ट्रपति यादवको भनाइ छ । “आजको युगमा बढ्दो मानसिक तनाव, शारीरिक निष्क्रियता र जीवनशैलीजन्य समस्या समाधान गर्न योग प्रभावकारी उपायको रूपमा स्थापित भइसकेको छ”, उहाँले भन्नुभएको छ । 

उहाँले नियमित योग अभ्यासले मानसिक तनाव न्यूनीकरण, सकारात्मक विचारधाराको विकास तथा अन्तर्मनको शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने पनि विश्वास व्यक्त गर्नुभएको छ । योगले विशेषतः हृदयघात, मधुमेह र अन्य दीर्घकालीन रोगको रोकथाम तथा नियन्त्रणमा यसको प्रभावकारिता वैज्ञानिक रूपमा प्रमाणित भइसकेको उहाँको भनाइ छ । 

उपराष्ट्रपति यादवले सम्पूर्ण नागरिकहरूले योगलाई आफ्नो जीवनशैलीमा आत्मसात् गर्दै शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यप्रति सजग रहनुपर्ने आवश्यकता पनि औँल्याउनुभएको  छ । स्वस्थ जीवनशैलीको अभ्यासमार्फत हामी समृद्ध राष्ट्र र सशक्त समाज निर्माणको मार्गमा अग्रसर हुनसक्ने उहाँले बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button