डडेल्धुराका २९ हजारभन्दा बढी नागरिक मनसुन जन्य विपद्को जोखिममा

डडेल्धुरा । डडेल्धुराका २९ हजारभन्दा बढी नागरिक मनसुन जन्य विपद्को जोखिममा रहने पूर्वानुमान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार सात वटा स्थानीय तह रहेको डडेल्धुरामा अमरगढी नगरपालिका बाहेक ६ वटा स्थानीय तहले मनसुनजन्य विपद्को जोखिममा रहेका छन् ।
समितिका अनुसार जिल्लाका १३ हजार ५ सय घरपरिवारका २९ हजार ५ सय ९५ नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
डडेल्धुराका सात स्थानीय तहहरू मध्ये सबैभन्दा बढी जोखिममा आलिताल गाउँपालिका रहेको छ, जहाँ ७ हजार ८५३ घरपरिवार प्रभावित हुने अनुमान छ । त्यस्तै, परशुराम नगरपालिकामा ३ हजार ९५१, भागेश्वर गाउँपालिकामा ५१०, नवदुर्गा गाउँपालिकामा ३११, अजयमेरु गाउँपालिकामा २०७, र गन्यापधुरा गाउँपालिकामा १६७ घरपरिवार जोखिममा रहने अनुमान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले संभावित जोखिमयुक्त क्षेत्र पहिचान गरी राहत र उद्धारका लागि अस्थायी शिविर, राहत सामग्री, सञ्चार समन्वय, आपतकालीन खाद्य जोहो तथा प्राथमिक उपचार सामग्री तयारीमा राखिएको र सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, र नेपाली सेनालाई उद्धारको प्रमुख जिम्मेवारी दिइएको जनाएको छ । डडेल्धुरामा भू–स्खलन, नदी कटान, र बाटो अवरुद्धजस्ता समस्या देखिँदै आएका छन् ।
९ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा मनसुन जन्य विपद्को जोखिम सबैभन्दा बढी कञ्चनपुरमा ३६ हजार ८९६, कैलालीमा ३२ हजार ३८०, बैतडीमा ३२ हजार १२४ बाजुरामा ३० हजार ७६६ र डडेल्धुरा २९ हजार ५९३ नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
यस्तै, डोटीमा २० हजार ८६९, बझाङमा १६ हजार ९३, अछाममा १५ हजार २१३ र दार्चुलामा १३ हजार ७९६ नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्