प्रधानमन्त्री ओलीले ट्राफिक एसएसपीलाई ओभरपासको उद्घाटन गर्न लगाउनुभयो

काठमाडौँ I प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको ग्वार्कोमा नवनिर्मित ओभरपासको औपचारिक उद्घाटन ट्राफिक एसएसपी नवराज अधिकारीलाई गर्न लगाउनुभएकाे छ ।
प्रधानमन्त्री ओलीकाे निर्देशनपश्चात एसएसपी अधिकारीले रिबन काटेर ओभरपासको औपचारिक उद्घाटन गर्नुभयाे । काठमाडौँ उपत्यकाको बढ्दो सवारी चाप र ट्राफिक जामको समस्या समाधानमा यो ओभरपासले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रधानमन्त्री ओलीले फेसबुक पेजमा स्टाटस लेख्दै आफूलाई ग्वार्को ओभरपास उद्घाटनकाे साक्षी बन्ने अवसर मिलेकाे बताउनु भयाे । उहाँ फेसबुक पेजमा लेख्नुहुन्छ- “सडकको जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरी सडकमा अहोरात्र खट्छन् । ट्राफिक व्यवस्थापन गर्न उनीहरूले धेरै दुःख र मेहनत गर्नु परेको हुन्छ। ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिल्यो।”
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकास सरकारको उच्च प्राथमिकतामा रहेको र यस्ता आयोजनाहरूले जनताको जीवन सहज बनाउनुका साथै देशको समग्र विकासमा योगदान पुर्याउने बताउनुभयो ।

करिब रु. १ अर्बको लागतमा निर्माण भएको यो ओभरपास सहरी विकास मन्त्रालय र सडक विभागको संयुक्त प्रयासमा सम्पन्न भएको हो। यो सञ्चालनमा आएसँगै कोटेश्वर–कलङ्की सडक खण्डमा पर्ने ग्वार्को चोकमा लाग्ने अत्यधिक जाममा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ। यसले यात्रुहरूलाई सहज र छिटो यात्राको अनुभव प्रदान गर्नेछ।
लामो समयदेखि यस क्षेत्रका बासिन्दा र यातायात व्यवसायीहरूले यस ओभरपासको माग गर्दै आएका थिए। यसको निर्माण सम्पन्न भएसँगै उनीहरूमा खुसी छाएको छ । यो ओभरपासले उपत्यकाको यातायात प्रणालीलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्