तपाईँ सुन्दै हुनुहुन्छः

चैते धानले ठोरी र माडीका खेत पहेँलै, प्रविधिको प्रयोगले भित्र्याउन सहज

बीरगंज । यतिबेला हुलाकी राजमार्गसँग जोडिएको पर्साको ठोरी गाउँपालिका र चितवनको माडी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन् । 

फागुन चैतमा रोपेको धान बर्षायाममा किसानलाई भित्र्याउन चटारो छ । यस वर्ष छिट्टै मनसुन शुरु भएको हुँदा ठोरी माडीका किसानलाई समस्या भएपनी कृषि क्षेत्रमा बढ्दै गएको प्रविधिको प्रयोगले  सहज भएको छ । 

माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरका अगुवा किसान प्रेम प्रसाद भण्डारीले धान काट्न गाउँमा मजदुर खोज्नुभयो । उहाँले मजदुर पाउनुभएन । पाउँदा पनि महँगो ज्याला मागे  । अन्ततः उहाँले प्रति घण्टा ६ हजार रुपैयाँमा खेतमै धान काट्ने र एकैसाथ चुट्ने र्हावेस्टर मेसिन बोलाएर आफ्नो १ बिगाह १० कठ्ठा खेतको धान डेढ घण्टामै  भित्र्याउनु भएको छ । 

उहाँ जस्तै कृष्णनगर गाउँका दर्जनौँ किसानले मेसिन लगाएर धान बाली घर भित्र्याएका छन् । किसानले धान बाली लगाउने बेला जति मेहनत गर्छन्  त्यति मेहनत भित्र्याउन पनि लाग्दछ । काट्ने, चुट्ने सबै काममा मजदुर लाग्छ । उब्जनी भएको आधी बाली मजदुरी तिर्नमा सकिन्छ । तर, प्रविधि आएपछि किसानलाई सहज भएको छ ।

मजदुरले तीन दिनसम्म लगाएर गर्ने काम मेसिनले एक छिनमै सकायो किसान भण्डारीले भन्नुभयो । प्रविधि आएपछि धान भित्र्याउन यसवर्ष कम खर्च लागेको बताउँदै बाहाँले गाउँमा आजभोलि मजदुर खोज्न पनि झन्झटिलो हुँदै गएको सुनाउनुभयो । 

अहिले गाउँमा मजदुर भेट्दैन । सबै काम गर्ने वैदेशिक रोजगारमा गएका छन् भन्दै अर्का युवा किसान प्रेम आचार्यले खेती गर्न अप्ठ्यारो लागिरहेको बेला प्रविधिले साहस थपेको बताउनुभयो ।

सरकारले किसानलाई मल र विउविजनमा सहुलियत गरिदिए खेती गर्न आकर्षित हुने उहाँको भनाइ छ ।  खेतबाट धान भकारीमा राख्दा सम्म हप्तौँ लाग्थ्यो अब प्रविधि आएपछि एक दिनमै त्यति काम भइरहेको आचार्यले सुनाउनुभयो ।

चैते धान बर्खे धानभन्दा बढी उत्पादन हुने भएकाले बर्सेनि किसानहरूमा चैते धानप्रति आकर्षण बढ्दै गएको पाइन्छ । 

यो वर्ष माडी नगरपालिका बाडा नम्बर ९ मा मात्रै करिब ५०० बिघा क्षेत्रफलमा चैते धानको खेती भएको छ । त्यसैगरी ठोरी क्षेत्रमा करिब ७ सय बिगाहामा धान खेती गरिएको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button