तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारले नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जनसेवालाई छिटो छरितो बनाउन सरकार नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको बताउनुभएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८औँ जन्मोत्सवको अवसरमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले आज यहाँ आयोजना गरेको ‘कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रम’मा उहाँले जतिसक्दो छिटो संस्कृति र पर्यटन नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “संस्कृति र पर्यटन नीति अहिले मन्त्रीपरिषद्मा छ, त्यो अबको मन्त्रिपरिषद् बैठकले पास गर्नेछ । संस्कृति, पर्यटन, नागरिक उड्डयन, भौतिक सम्पदा र प्राचीन स्मारक संरक्षणसम्बन्धी ऐन पनि निर्माण भइरहेको छ ।” 

मन्त्री पाण्डेले सार्वजनिक निकायलाई सुधार गर्ने विषयमा सरकारले गम्भीरता पूर्वक काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले  निजी क्षेत्रसँग साक्षात्कार गरिरहेको बताउनुभयो ।

सरकारले उत्पादकत्व वृद्धि गर्नेतर्फ काम गरिरहेको उहाँको भनाइ छ । मन्त्री पाण्डेले भन्नुभयो, “निजी क्षेत्रले भन्नुभएको छ, एउटा पाँच तारे होटल चलाउन विदेशमा ४० जना भए पुग्छ, यहाँ ४ सय जनाले पनि चलाउन गाह्रो भइरहेको छ, किनभने हाम्रो उत्पादकत्व कम छ, हामीले काम नै कम गर्दा रहेछौँ, त्यसकारण एउटा सार्वजनिक संस्थानमा कति कर्मचारी आवश्यक हो भन्ने कुराको निक्र्यौल गर्नुपर्छ ।” 

उहाँले नेपाल धार्मिक, प्राकृतिक, भौगोलिक बनावट, उर्वर जमिन र जल सम्पदाको हिसाबले सम्पन्न भएको उल्लेख गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने विषयमा सरकारले काम गरिरहेको बताउनुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली भाषा र संस्कृतिको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा कवि बाबु त्रिपाठी, प्रगति राई, तुलसीहरि कोइराला, रञ्जिता गिरी र कल्पना भण्डारीलगायतले कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button