कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
गुल्मी । सत्यवति गाउँपालिका–८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ ।

परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उहाँको बारी यतिबेला किवीका बोटले ढपक्कै ढाकेको छ । उहाँले किबीखेती गरेर वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुनुहुन्छ । सत्यवती–८ का सदस्य थापाले गत ११ वर्षदेखि किबीखेती गर्न सुरु गर्नुभएको हो । उहाँले आठ रोपनी जग्गामा किबीखेती गर्दै आउनुभएको छ । उहाँको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी छ जातका किवीका बिरुवा छन् ।
जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उहाँले गत वर्ष रु चार लाखको किवी र रु दुई लाखको किवीका बिरुवा बिक्री गरेको बताउनुभयो । तीन वर्षबाटै किवीले उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको होे ।
एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किवी फल्ने गरेको छ । उहाँको बारीमा अहिले एक सय ५० किवीका बोट रहेका छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु आठ लाख खर्चेर व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गर्नुभएको हो ।
“त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु”, उहाँले भन्नुभयो । किवीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उहाँले बताउनुभयो । “वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ”, थापाले भन्नुभयो ।
उहाँले उत्पादन गरेको किवी बजारमा रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । उहाँले किवीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गर्नुभएको छ । किवीलाई बजारको खासै समस्या नभएको थापाले बताउनुभयो । थापाले पाँच वर्षदेखि किवीको नर्सरीसमेत गर्दै आउनुभएको छ । उहाँको नर्सरीमा यतिबेला आठ हजार किवीका नयाँ बिरुवा रहेका छन् । एउटा बिरुवालाई रु एक सय ५० देखि रु दुई सय पर्दछ ।
गाउँपालिकाले भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनुभयो ।
किवीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किवी राम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किवीको भन्दा रु एक सय बढी पर्दछ । भार्षेमा पाँच वटा किवी समूहमा ८० कृषक आबद्ध छन् । यस क्षेत्रमा एक कृषकले १० बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आइरहेका छन् । जनार्दन घिमिरे /रासस
प्रतिक्रिया राख्नुहोस्