सदन सञ्चालनलाई सहज बनाउन सभामुख र सचेतकहरूबिच छलफल जारी

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभएको छ ।
संघीय संसद् भवन नयाँबानेश्वर स्थित सभामुखको कार्यकक्षमा जारी छलफलमा संसद्लाई सहज रुपमा सञ्चालन गर्ने सम्बन्धमा छलफल भइरहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।
छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही हुनुहुन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सदन खुलाउन सहमत भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणलाई लिएर सदनमा विरोध गरिरहेका छन् ।
सदनमा विरोधकाबिच सभामुख देवराज घिमिरेले शुक्रबार र आइतबार सदन सञ्चालन गर्नुभएको थियो ।
यसअघि सभामुख घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान पनि रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्