‘समाज रूपान्तरणमा कलाकार र पत्रकारको भूमिका महत्वपूर्ण’
जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले समाज रूपान्तरणमा कलाकार तथा पत्रकारहरूको ठूलो भूमिका भएको बताउनुभएको छ ।

सञ्चारमन्त्री लेखीले मधेश प्रदेश सरकारको चलचित्र तथा लोकसञ्चार प्रबद्र्धन बोर्डको आयोजनामा आज जनकपुरधाममा “चलचित्र तथा लोकसञ्चार प्रबद्र्धन बोर्डको संस्थागत विकाससम्बन्धी संवाद” कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले सञ्चार तथा कला क्षेत्रको सर्वाङ्गीणका लागि मन्त्रालयको श्रोत साधनले भ्याएसम्मको सबै प्रकारको सहयोग गर्नका लागि तयार भएपनि समयमा बजेट तथा कार्यक्रम गर्नका लागि आग्रह गर्नुभयो ।
उहाँले वर्तमान संविधानले मुलुकमा धेरै विषयहरू दिएको बताउँदै प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिको रक्षाका लागि अग्रसर हुन जरुरी रहेको बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभाका सदस्य रत्नेश्वरलाल गोइतले चलचित्र बोर्डले कला संस्कृतिको संरक्षण गर्दै कलाकारहरूलाई रोजगारसँग जोड्ने गरि काम गर्न जरुरी रहेको बताउनुभयो ।
नेकपा एमालेका नेत्री शारदा देवी थापाले कलाकारहरू देशको नेतृत्व गर्नेतर्फ अग्रसर हुन जरुरी रहेको बताउँदै समाजमा देखा परेको लागु पदार्थको दुर्व्यसनबाट युवा पिँढीलाई जोगाउन चेतनामूलक फिल्म तयार गर्न सुझाव दिनुभयो ।
नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य जीवछी यादवले मधेश प्रदेशमा भएका कलाकारहरूको तथ्याङ्क सङ्कलन तथा कलाकारको संरक्षण सम्बन्धि नीति बनाउन जरुरी रहेको बताउँदै यस तर्फ चलचित्र बोर्डले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
जनता समाजवादी पार्टी नेपालका प्रवक्ता एवं प्रदेश सभाका सदस्य मनिष सुमनले हरेक व्यक्तिमा फरक फरक प्रतिभा हुने गरेको बताउँदै कलाको प्रबद्र्धन तथा नयाँ प्रतिभाको खोज तर्फ विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभाका सदस्य रमिता प्रधानले सामाजिक विकृतिहरूको अन्त्य गर्दै भाषा, संस्कृतिको संरक्षण तर्फ संस्थाले काम गर्नुपर्ने सुझाव दिनुभयो ।
नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रले चलचित्र मार्फत समाजमा रहेका विकृति एवं विसङ्गतिलाई अन्त्य गर्नका लागि चलचित्र तथा लोकसञ्चार प्रबद्र्धन बोर्डले काम गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्