बागलुङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बागलुङ । बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
बागलुङ गण्डकी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तेस्रो जिल्ला बनेको छ । यसअघि म्याग्दी र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका १३ देखि २३ महिनाका ३ हजार ९८ जना बालबालिकाले पूर्ण खोप र शून्यदेखि १५ महिना उमेर समूहका ३ हजार ५ सय ५२ जना बालबालिकाले खोप लगाइरहेका छन् ।
दश वटै पालिकाका सबै बालबालिकाहरूले पूर्ण खोप लगाएपछि बागलुङलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाको प्रमाणपत्र समेत प्रदान गरेका थिए ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार, ताराखोला गाउँपालिकाका १६ देखि २३ महिनाका ७०, बरेङका ५ सय ९, काठे खोलाका २ सय ७, बडिगाडका ३ सय ५५, निसीखोलाका ३ सय ७७ र तमानखोला गाउँपालिकाका १ सय १४, बागलुङ नगरपालिकाका ४ सय ५९, जैमिनीका २ सय २६, गलकोटका ३ सय २७ र ढोरपाटन नगरपालिकाका ४ सय ५४ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् ।
कार्यक्रममा पूर्ण खोप अभियानमा उत्कृष्ट कार्य गर्ने दश पालिकाका दश जना स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई समेत सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्