‘बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छ’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा आज उहाँले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको बताउनुभएको हो ।
ऊर्जा मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेकाले उक्त लक्ष्यलाई पूरा गर्न प्राधिकरणका कर्मचारीको ठूलो मेहनत आवश्यक रहेको बताउनुभयो । मन्त्री खड्काले विद्युत् प्राधिकरणभित्र रहेका ज्यालादारी कर्मचारीको समस्या बढी रहेकाले यसको समाधानका लागि काम गरिने बताउनुभयो ।
मन्त्री खड्काले विद्युत् ऐन चाँडो संसद्बाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिष्कृत गर्दै लैजाने बताउनुभयो । प्राधिकरणलाई ‘अन्डरवन्डलिङ’ गरे कर्मचारीलाई पनि फाइदा हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्