परराष्ट्रमन्त्रीद्वारा वैदेशिक सहायता घट्ने संकेत, आत्मनिर्भर अर्थतन्त्रमा जोड
काठमाडौँ I परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपालमा वैदेशिक विकास सहयोग घट्न सक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा परराष्ट्रमन्त्री राणाले जिओपोलिटिक्सलगायतका कारणले नेपालमा आउने विकास सहायता कम हुन सङ्केत पाएकाले सरकारले त्यस अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय तहमा छलफल गरिरहेको जानकारी गराउनुभयो ।
बैठकमा सांसदहरुले मुलुकको विकासका लागि अन्तर्राष्ट्रिय सहायतामा मात्रै भर पर्न नहुने भन्दै आत्मनिर्भर अर्थतन्त्रको मार्गमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले हालसम्म कति नेपाली विद्यार्थी कुन देशमा पुगेका छन् ? भन्ने तथ्याङ्क राख्नुपर्ने, विदेशमा समस्यामा परेका नेपालीलाई कूटनीतिक पहल गरी सरकारले सहजीकरण गरिदिनुपर्ने, अङगिकृत नागरिकता लिनेहरूको तथ्याङ्क राख्नुपर्नेलगायतका विचार व्यक्त गर्नुभयो ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कति नेपालीले विदेशी नागरिकता लिए भन्ने तथ्याङ्क माग गर्नुभएकाे छ ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले परराष्ट्रमन्त्री आरजु राणासँग यस्तो विवरण माग गर्नुभएकाे हाे ।
‘कति नेपालीले विदेशको नागरिकता लिए ? यसको रेकर्ड परराष्ट्र मन्त्रालयमा हुनुपर्छ’ साहले सोध्नुभयो, ‘नेपालको नागरिकता कसले छोडिरहेको छ र कसले लिइरहेको छ यसको रेकर्ड के छ ? यो जान्न चाहन्छु ।’
साहले विदेशमा नेपाली ठगिरहेको भनेर पनि परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गराउनुभयो ।
‘विदेशमा नेपाली श्रमिकहरू छन् । उनीहरूले आफ्नो हक पाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘खाडी मुलुकमा घरेलु कामदार सम्बन्धी कानुन छ कि छैन ? मानव जस्तो व्यवहार हुने वातावरण भएको ठाउँमा मात्रै कामदार जान सक्दछन् । यस निम्ति परराष्ट्र मन्त्रीको रुपमा के पहल गर्दै हुनुहुन्छ ?’








प्रतिक्रिया राख्नुहोस्