भेरी अस्पतालमा असारदेखि एमडी/एमएस पढाइ सुरु हुने
बाँके। भेरी अस्पतालमा असार दोस्रो साताबाट एमडी/एमएस तहको पढाइ सुरु हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालबीच यसअघि भएको सहमति अनुसार फ्याकल्टी निर्धारण भइसकेको छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुबेदीका अनुसार मेडिसिन, सर्जरी, स्त्रीरोग तथा प्रसूति र अस्थि रोग विभागमा एमडी पढाइ सुरु हुनेछ। मेडिसिन र सर्जरीमा दुई/दुई जना तथा गाइनेकोलोजी र अर्थोपेडिकमा एक/एक जना विद्यार्थीले अध्ययन गर्नेछन्।
डा. सुबेदीले शैक्षिक कार्यक्रम सुरु भएपछि अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “उपचार सेवासँगै शैक्षिक गतिविधि पनि बढ्ने भएकाले अस्पतालको स्तर स्वभाविक रूपमा उकासिन्छ।”
भेरी अस्पतालमा विगतदेखि नै एमडी/एमएस पढाइ सुरु गर्ने प्रयास हुँदै आएको थियो तर ठोस प्रगति हुन सकेको थिएन। प्रारम्भमा नौ वटा विषयमा पढाइ प्रस्ताव गरिएको भए पनि हालका लागि चार विषयमा मात्र पढाइ सुरु गर्न लागिएको हो। पढाइ सुरु भएपछि भेरी अस्पताल न्याम्सको आङ्गिक अस्पतालका रूपमा रहनेछ।








प्रतिक्रिया राख्नुहोस्