भारतबाट फर्किनेमा संक्रमण देखिएपछि सुदूरपश्चिमका चार नाकामा कोरोना परीक्षण सुरु
कञ्चनपुर। भारतबाट फर्किने व्यक्तिहरूमा कोरोनाको संक्रमण देखिन थालेपछि सुदूरपश्चिमका सीमानाकामा हेल्थ डेस्कमार्फत स्वास्थ्य परीक्षण सुरु गरिएको छ।
प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा एन्टिजेन परीक्षण सुरु गरिएको हो।
चारवटै हेल्थ डेस्कमा परीक्षणका लागि कोरोना किट उपलब्ध गराइएको छ। हाल गड्डाचौकीमा १००, गौरिफण्टामा १५०, झुलाघाटमा ५५ र पुलघाटमा २५ किट रहेका छन्। जोशीका अनुसार यात्रुको चाप र किटको सीमितताका कारण प्राथमिकताका आधारमा परीक्षण भइरहेको छ।
गौरिफण्टामा जेठ २१ गतेदेखि र अन्य तीन नाकामा जेठ २७ गतेदेखि परीक्षण सुरु गरिएको हो। जेठ २१ देखि २८ गतेसम्म १६ जनाको एन्टिजेन नतिजा पोजेटिभ आएको छ।
गड्डाचौकी हेल्थ डेस्कका स्वास्थ्यकर्मी विशाल भट्टका अनुसार हाल परीक्षण भइरहे पनि पछिल्लो समय सबै नतिजा नेगेटिभ देखिएका छन्। सीमानाकामा सातजना स्वास्थ्यकर्मी खटिएका छन्। सीमानाकाबाट खेतीपातीका लागि फर्कनेहरूको संख्या बढ्दो रहेकाले थप किट माग गरिएको जनाइएको छ।
प्रतिक्रिया राख्नुहोस्