तपाईँ सुन्दै हुनुहुन्छः

प्रचण्ड गर्मीसँगै मध्य तराईको जनजीवन प्रभावित

'बालबालिका विद्यालयमै बेहोस हुन थाले'

बीरगंज। विगत केही दिन देखि यता बढेको प्रचण्ड गर्मीको कारण बारा, पर्सा सहित मध्य तराईको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । 

बीरगंजमा आज ४० डिग्री सेल्सियस सम्म पुगेको छ । गर्मी बढ्दै गएपछि दिउँसो हिड्डुल गर्ने सर्वसाधारण , काम गर्ने मजदुर तथा कृषि कर्म गर्ने किसानहरू बढी प्रभावित भएका छन् । प्रचण्ड गर्मीसँगै खानेपानीका धारा सुकेपछि बीरगंज सहित बारा, पर्साको ग्रामीण क्षेत्रमा खानेपानीको समस्या समेत परेको छ । अत्यधिक गर्मीको कारण पर्साका ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा पङ्खाको सुविधा समेत नहुँदा विद्यार्थीको स्वास्थ्यमा असर पर्न थालेको छ । 

पछिल्लो समय बढेको गर्मीमा कक्षा कोठामा पङ्खा नहुँदा विद्यार्थीहरू बेहोस हुन् थालेका छन् । विशेष गरी स–साना बालबालिकाहरू गर्मीको कारण प्रभावित भएपछि पर्साका स्थानीय तहले निजी तथा सामुदायिक विद्यालयलाई एक साताका लागि बर्से बिदाबाट कट्टी हुने गरी बिदा दिनु पर्ने माग अभिभावकहरूको छ ।

त्यसैगरी प्रचण्ड गर्मीको कारण स–साना बालबालिकाहरू प्रभावित भएपछि बाराको कलैया उपमहानगरपालिकाले ३ दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरूमा अत्यधिक गर्मीका कारण बालबालिकाहरू बेहोस हुन थालेपछि नगर शिक्षा समितिले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जेठ २७ गतेको निर्णयअनुसार, २०८२ जेठ २८ गतेदेखि २०८२ जेठ ३० गतेसम्म विद्यालयहरू बन्द रहनेछन् । यो बिदा वार्षिक बिदाबाट कटौती गरिनेछ ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजीव कुमार यादवले जारी गरेको सूचनामा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै यो निर्णय गरिएको उल्लेख छ ।

विद्यालयहरू २०८२ असार १ गते आइतबारदेखि नियमित रूपमा सञ्चालनमा आउनेछन्। केही दिनदेखि बढेको अत्यधिक गर्मीले बालबालिकाहरूको पठनपाठनमा समस्या हुँदै आएको थियो । मङ्गलवार एक्कासी विद्यालयका विद्यार्थीहरू बेहोस हुन थालेपछि उपमहानगरपालिकाले विद्यालय बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button