नेपाललाई एआई हब बनाउने सरकारको योजना: मन्त्री गुरुङ
काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई एआई र सूचना प्रविधिको हबका रूपमा विकास गरीने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित ‘मानव विकास प्रतिवेदन २०२५’ सार्वजनिक र नेपालमा कृत्रिम बुद्धिमत्ता (AI) को सम्भावना, चुनौती र नीतिगत दिशा तय गर्न उच्चस्तरीय छलफल कार्यक्रममा बाेल्नुहुँदै मन्त्री गुरुङले सो कुरा बताउनुभएकाे हाे ।
“A Matter of Choice: People and Possibilities in the Age of AI” भन्ने मूल विषयमा आयोजित उक्त कार्यक्रममा
उहाँले भन्नुभयो, “एआई अब केवल भविष्यको कल्पना होइन, वर्तमानको यथार्थ बनिसकेको छ। हामी यसलाई समावेशी, न्यायसंगत र उत्तरदायी ढंगले प्रयोग गर्न चाहन्छौँ।”
डिजिटल नेपाल फ्रेमवर्क २ लागू हुँदै
मन्त्री गुरुङका अनुसार, सरकारले अहिले ‘डिजिटल नेपाल फ्रेमवर्क २.’ लागू गर्ने प्रक्रियामा छ, जसले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वित्त र सुशासनमा डिजिटल रूपान्तरणलाई तीव्र बनाउनेछ।
साथै, एआई अनुसन्धान केन्द्र, आइटी हब, क्लाउड पूर्वाधार, सुरक्षित डेटा प्रणाली लगायतका पूर्वाधार विकास गर्न सरकारले सार्वजनिक, निजी र शैक्षिक क्षेत्रसँग सहकार्य गरिरहेको जानकारी उहाँले दिनुभयो।
उहाँले थप भन्नुभयो, “सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना, युवा उद्यमशीलता प्रवर्द्धन र समावेशी विकास हाम्रो प्रमुख प्राथमिकता हो।”
प्रविधि: अवसर पनि, उत्तरदायित्व पनि
UNDP को मानव विकास प्रतिवेदन २०२५ ले देखाएको छ कि प्रविधि आफैँ विकास होइन, तर विकासलाई मार्गदर्शन गर्ने माध्यम हो। मन्त्री गुरुङले भन्नुभयो, “हामी सुनिश्चित गर्न चाहन्छौँ कि नेपालमा विकास भइरहेको एआई स्थानीय आवश्यकता, सामाजिक सन्दर्भ र समावेशी मूल्यमा आधारित होस्। यसले असमानता घटाओस्, सबैका लागि अवसर सिर्जना गरोस्।”
विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान
कार्यक्रममा मन्त्री गुरुङले विश्वभरका लगानीकर्तालाई नेपालमा सूचना प्रविधि र एआईमा लगानी गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “नेपालमा सुरक्षित वातावरण, नीतिगत स्थायित्व, डिजिटल पूर्वाधार, अप्टिकल फाइबर नेटवर्क र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित छ। हामी लगानीमैत्री वातावरण सिर्जना गर्न प्रतिबद्ध छौँ।”
सहकार्यमा मात्र सम्भव छ रूपान्तरण
सम्बोधनको अन्तीममा मन्त्री गुरुङले भन्नुभयो, “हामी डर होइन, उद्देश्य र सम्भावनाका साथ यो प्राविधिक रूपान्तरण अँगाल्न चाहन्छौँ। नेपाललाई एआई हब बनाउने लक्ष्य हामी सबैको सहकार्यमा मात्र सम्भव छ।”
कार्यक्रममा सरकार, निजी क्षेत्र, विकास साझेदार, विज्ञ समुदाय र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त प्रतिवेदन UNDP नेपाल र नेपाल इकोनोमिक फोरम को सहकार्यमा सार्वजनिक गरिएको हो।
प्रतिक्रिया राख्नुहोस्