‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ जेठ ३० गते
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यही जेठ ३० गते ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका सातै प्रदेशका मौलिक र रैथाने गीतसङ्गीत, नृत्य एवं नाटकलाई उपत्यकासँग परिचित गराउँदै संस्कृति आदानप्रदानका लागि काठमाडौँमा उत्सव आयोजना गर्न लागिएको जानकारी दिइयो ।
प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले उत्सवमा नेपाली लोक सङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र सांस्कृतिक विविधताको बहुआयामिक प्रस्तुति हुने जानकारी दिनुभयो ।
उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका बुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र क्याम्पसका विद्यार्थीलाई समेत सहभागी गराइने उत्सवका संयोजक एवं प्रतिष्ठानका उपकुलपति शम्भु राईले जानकारी दिनुभयो ।
बाह्य संस्कृतिको उपनिवेश एवं आन्तरिक सांस्कृतिक दबदबाका कारण अल्पसङ्ख्यक जाति–भाषी समुदायका लोकसंस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले ती लोकसंस्कृति जगेर्नाका लागि पनि प्रतिष्ठानले यस खाले उत्सव आयोजनाको रणनीति बनाएको उपकुलपति राईको भनाइ थियो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महराले उत्सवमा कोशी प्रदेशबाट आठ पहरिया राई जातिको ढोल नाच, माखण्डासे गीत, मधेस प्रदेशबाट मिथिला सङ्गीत र भोजपुरी गीत, बागमती प्रदेशबाट घ्याङ्ताङ निस्से नाच र फकन्दली नृत्य (नेपाल भाषा) प्रस्तुत हुने जानकारी दिनुभयो । यस्तै, गण्डकी प्रदेशबाट झाम्रे र यानिमाया नृत्य, लुम्बिनी प्रदेशबाट डिग्रे पैसरी र लस्के नृत्य, कर्णाली प्रदेशबाट टप्पा गीत र झ्याउरे नृत्य, सुदूरपश्चिमबाट देउडा र छलिया नृत्य प्रस्तुत हुने उहाँले बताउनुभयो ।
उत्सवमा कवि लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो?’ कवितालाई वीरेन्द्र हमालको निर्देशनमा नाटक मञ्चनसमेत गरिने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्