बैजनाथमा दश हजार भन्दा बढीलाई लालपुर्जा दिने तयारी

बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारीबाट सहिद बैजनाथ थारुको गाउँबाट जग्गा नापजाँच सुरु गरिएको छ ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, आयोग बाँकेका सदस्य केशव शाह, गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, बैजनाथ–७ का वडाअध्यक्ष दिनेशकुमार चौधरी लगायतले संयुक्त रुपमा जग्गा नापजाँचको शुभारम्भ गर्नुभयो ।
गतवर्ष पनि बैजनाथ–७ को पेडारीमा आयोगले जग्गा नापजाँचको काम सुरु गरे लगत्तै सरकारले आयोगलाई विघटन गरेपछि काम बीचमै रोकिएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले राम्रो कामको सुरुवात बैजनाथ–७ बाट आफूहरूले गर्दै आएकोमा जग्गा नापजाँचको काम पनि सोही वडाबाट सुरु गरिएको जानकारी दिनु भयो ।
२००७ सालको आन्दोलनका क्रममा शहिद भएका बैजनाथ थारुको जन्म गाउँबाट अभियान सुरु गरेको बताउँदै अध्यक्ष शाहीले भन्नुभयो,‘हामीले असार मसान्तभित्रमा लालपुर्जा बाँड्ने तयारी गरेका छौँ, कुनैपनि विवाद आयो भने वडामा रहेको सहजीकरण समितिले समाधान गरिदिनुपर्छ ।,’ भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने काममा सबै राजनीतिक दलले अपनत्व लिनुपर्ने अध्यक्ष शाहीले बताउनुभयो । अध्यक्ष शाहीका अनुसार बैजनाथ गाउँपालिका भरी १० हजार १ सय १२ परिवार भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेका छन् ।

यी मध्ये ७ हजार ५ सय ७४ परिवार अव्यवस्थित बसोबासी, १ हजार ६ सय ८ परिवार भूमिहीन सुकुम्बासी र ९ सय ३० परिवार भूमिहीन दलित रहेका अध्यक्ष शाहीले जानकारी दिनु भयो ।
यस्तै आयोग बाँकेका अध्यक्ष खनालले आफ्नो कार्यकालमा जिल्लाका सबै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने बताउनु भयो । आयोग बाँकेका अनुसार जिल्लाभर ५३ हजार ७ सय ५ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेका छन् । यी मध्ये ४३ हजार २ सय २६ परिवार अव्यवस्थित बसोबास, ६ हजार ७ सय ९८ परिवार भूमिहीन सुकुम्बासी र ३ हजार ६ सय ८१ परिवार भूमिहीन दलित रहेको आयोगले जनाएको छ ।
उहाँले बाँकेका तीन वटा स्थानीय तहमा चालु आर्थिक वर्ष २०८१/०८२ भित्रै लालपुर्जा बाँड्ने तयारी भइरहेको जानकारी दिनु भयो । बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकाका केही वडाहरूमा जग्गा नापजाँच गरी लालपुर्जा बाँड्ने तयारी अगाडी जिकिर गर्नुभयो । उहाँले ‘पालिकाहरूमा जग्गा नाप जाँचको काम चलिरहेको छ, आगामी असार मसान्तभित्र पालिकाको केही वडाहरूमा लालपुर्जा वितरण गर्ने आयोगको योजना छ ।,’








प्रतिक्रिया राख्नुहोस्