तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई–मधेस द्रुत मार्ग सुरु विन्दुको समस्याबारे स्थानीयबासीहरूसँग छलफल 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई–मधेस द्रुत मार्ग सडक आयोजनाको सुरु बिन्दुको विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर, वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जन सहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिनुभएको हो । सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकु छापमा कायम गर्न विकल्प दिएको छ । 

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नु पूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराउनुभयो । 

यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल लगायत उच्चाधिकारीको सहभागितामा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गर्नुभएको थियो ।

कूल ७० दशमलव ९७ किलोमिटर दूरीको रु दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना वि.सं २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button