तपाईँ सुन्दै हुनुहुन्छः

पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ राष्ट्रिय सभाबाट पारित 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ पारित गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गर्नुभएको विधेयक सभाको सर्वसम्मतिले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री दाहालले विधेयकले आन्तरिक जलमार्गमा जल यान सञ्चलनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभयो ।

यसैगरी बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले विधेयकले भन्सार प्रशासनमा रहेका समस्याहरू समाधान गर्ने र पारदर्शिता बढाएर अन्तर्राष्ट्रिय व्यापारमा सहजता ल्याउने विश्वास व्यक्त  गर्नुभयो । 

यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभयो । 

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जलस्रोत विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक जेठ ३० गते शुक्रवार १ बजेर १५ मिनेटमा बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button