तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वसञ्चारमन्त्री बास्कोटाद्वारा तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समावेश छ ।

तस्बिर अवलोकनपछि उहाँले यस्ता प्रदर्शनीमा मुलुकका सबै क्षेत्र र भूभागको जनजीवन र विविधतासहित सिङ्गो नेपाल झल्किएको देखिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिमाली र उच्च पहाडी भेगको जनजीवन समेटिएको पाइयो । यसमा मध्यपहाडी र तराईलाई पनि समेटिनुपर्छ, आगामी दिनमा त्यो होस् ।” सो अवसरमा पूर्वमन्त्री बास्कोटाले मिडिया सङ्ग्रहालयसमेत अवलोकन गर्नुभएको थियो ।

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले उहाँलाई स्वागत गर्दै नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे एउटै स्थलबाट जानकारी दिन सकियोस् भनी प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । यसअघि राससले एक वर्ष नेपालका संस्कृति र सम्पदा तथा अघिल्लो वर्ष भौतिक पूर्वाधार निर्माण विषयमा केन्द्रित रही तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button