तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमन्त्री अधिकारी र एफएओका विशेष प्रतिनिधि वीच भेटवार्ता , थप सहकार्यमा जोड

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (FAO) का विशेष प्रतिनिधि डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेन्डामा पोषण र खाद्य सुरक्षालाई मुलप्रवाहीकरणमा ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्धारा सञ्चालित परियोजनाहरू मार्फत खाद्य र पोषण सुरक्षा ,दिगो प्राकृतिक श्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण , आपत्कालीन अवस्थाको तयारी एवं ग्रामीण महिलाहरूको आर्थिक उत्थान र सबलीकरणमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रम मार्फत कृषकसम्म सुरक्षित ,पर्यावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पुर्‍याउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताउनुभयो । उहाँले नेपालबाट उत्पादन हुने कृषि उत्पादनहरूको विभिन्न देशहरूमा निर्यातका लागि क्वारेनटाइन क्षेत्र लगायत विषादी व्यवस्थापनका क्षेत्रहरूमा र कृषि वस्तुहरूको भौगोलिक सङ्केतमा एफएओको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो ।

भेटवार्तामा एफएओका विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका विभिन्न पक्षलाई असर पारेको र नेपाल जस्ता देशहरूलाई समस्या पारेको उल्लेख गर्दे जलवायु अनुकूलनका कार्यक्रमहरू मार्फत यस्ता चुनौतीहरूको सामना गर्न जरुरी रहेको बताउनुभयो । नेपालले कृषि क्षेत्रमा गरेको प्रगतिले सम्भावना देखाएको र आगामी दिनमा कृषिका नवीन आयामहरूलाई अबलम्वन गर्दे जानुपर्नेमा जोड दिनुभयो ।

भेटवार्तामा एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन सिमिजु , मन्त्रालयका सहसचिव हरिबहादुर के.सी लगायतको सहभागिता थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button