सल्यानमा कालो बेसारको खेती सुरु

सल्यान । सल्यानमा कालो बेसारको खेती सुरु भएको छ ।
औषधीय गुण हुने भएकाले पछिल्लो समय यहाँका किसानले कालो बेसारको खेती सुरु गरेका हुन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले यसलाई औपचारिक अनुसन्धानको प्राथमिकतामा राखेको जनाएको छ ।
अनुसन्धान केन्द्रका प्रमुख डाक्टर घनश्याम भण्डारीले यसको भौतिक, रासायनिक तथा औषधीय विशेषता पहिचान गर्न विश्लेषण लगायत अनुसन्धानको कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
उहाँले यस वर्ष अलि धेरै उत्पादन गरेर अनुसन्धानको काम बढाएको र कालो बेसारको करिब ३० किलो बिउ रोपेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कालो बेसारमा पाइने विभिन्न तत्त्वको मात्रा, गुणस्तर र अन्य परम्परागत पहेँलो बेसारसँगको तुलनात्मक भिन्नता पत्ता लगाउनका लागि अनुसन्धान पनि सुरु गरिएको छ ।” अदुवा बाली अनुसन्धान कार्यक्रमले विभिन्न क्षेत्रबाट किसानले कालो बेसारको खेती गरिरहेको जानकारी गराउँदै बजारीकरणका लागि सोधी खोजी गर्ने गरेको जनाएको छ ।
जिल्लाको कालीमाटी गाउँपालिका–४ का किसान पुरुषोत्तम भट्टराईले गाउँमै औषधीय महत्वले भरिएको कालो बेसारको खेती गरेको जानकारी दिनुभयो । उहाँले सामुदायिक वनमा समेत यसको खेती हुने गरेको थाहा पाएपछि निजी जमिनमा खेती सुरु गरिएको बताउनुभयो ।
गत वर्ष थोरै क्षेत्रमा कालो बेसार लगाएको र राम्रो फलेपछि यसपालि करिब दुई रोपनी जमिनमा खेती गरेको उहाँले जनाउनुभयो । यो बेसारको औषधीय गुण र बजार मूल्यका कारण कृषक यसको सम्भावनातर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाको बागचौरलगायतका क्षेत्रमा समेत कालो बेसारको खेती हुने गरेको छ ।
काँचो कालो बेसारको मूल्य पाँच सयदेखि एक हजार रुपियाँ प्रतिकिलोसम्म रहेको बताइन्छ । आफूकहाँ यसको बिउसमेत रहेको किसान भट्टराईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्