रतुवामाई नगरपालिकाद्वारा १ करोड १० लाख बराबरको कृषि उपकरण वितरण

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले १ करोड १० लाख रुपैयाँ बराबरको कृषि उपकरण स्थानीय किसानहरूलाई वितरण गरेको छ। नगरपालिकाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको साझेदारीमा कृषि उपकरण वितरण गरिएको हो।

नगरपालिकाका १० वटै वडाका १६० कृषक समूह र कृषि फर्महरूलाई कृषि औजार तथा उपकरण प्रदान गरिएको छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरु प्रसाद वरालले जानकारी दिएअनुसार, वितरण गरिएका उपकरणहरूमा:
- १५० थान च्याफ कटर मेसिन
- २० थान स्प्रे ट्याङ्की
- ११२ थान मकै छोड्ने मेसिन
- १६५ थान मकै रोप्ने मेसिन
समावेश छन्।

नगरप्रमुख नागेश्वरप्रसाद सिंह र प्रमुख प्रशासकीय अधिकृत वरालले संयुक्त रूपमा किसानहरूलाई उपकरण हस्तान्तरण गर्नुभएको थियो। नगरपालिकाको कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत सो वितरण गरिएको हो।
नगरप्रमुख सिंहका अनुसार, “रतुवामाई नगरपालिका कृषिमा आधारित क्षेत्र भएकाले कृषि व्यवसायीकरण र उत्पादन वृद्धि गर्न यस्ता प्रविधिमैत्री उपकरण वितरण गरिएको हो।”
रतुवामाई नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान जोन कार्यक्रम पनि सञ्चालनमा रहेको छ। करोडौं मूल्यका उपकरण वितरणबाट कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्