तपाईँ सुन्दै हुनुहुन्छः

कृषि उत्पादन तथा प्रसिद्ध मानव चित्र अंकित हुलाक टिकटमा टाँचा 

निर्जला मिश्र (प्रशिक्षार्थी पत्रकार )
काठमाडौँ । हुलाक सेवा विभागले नेपाली मौलिक कृषि उत्पादन तथा प्रसिद्ध मानव चित्र अंकित हुलाक टिकटहरू आजदेखि प्रचलनमा ल्याएको छ ।

१० रुपैयाँ मूल्यका नेपालका मौलिक कृषि उत्पादनहरू रायोको साग, सुन्तला, पशुजन्य उत्पादनहरू खरी बाख्रा, नौमुठे गाई, पारकोट भैँसी, तिमे भैँसी, असला माछा र राष्ट्रिय सन्त स्वामी श्रीपरमानन्द सरस्वती महाराजलगायतका  चित्र अंकित हुलाक टिकटहरूमा आज टाँचा लगाइएको छ ।

आजदेखि प्रचलनमा ल्याइएका छुटाछुटै टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रथम दिवसीय टाँचा लगाउनुभयो ।

सो अवसरमा मन्त्री गुरुङले राष्ट्रिय सन्त स्वामी श्रीपरमानन्द सरस्वती महाराज र कृषि वस्तुको योगदानको स्मरण गर्दै हुलाक टिकट प्रचलनमा ल्याएकोमा खुसी व्यक्त गर्नुभयो ।  उहाँले समाजका विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान गर्ने व्यक्तिहरूको पनि चित्र अंकित हुलाक टिकट प्रकाशन गर्न सुझाव दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले प्रकाशित हुलाक टिकटले मौलिक कृषि वस्तहरुको संरक्षण र प्रवद्र्धनमा सहयोग पुर्‍याउने बताउनुभयो ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले मानवलाई प्रकृतिसँग जोड्ने ज्ञानका पुञ्ज सन्त स्वामी श्रीपरमानन्द सरस्वती महाराजको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्न पाउनु विभागका लागि गर्वको विषय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button