‘लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य’
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले मुलुक बनाउन सबै नागरिकले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । ‘लुम्बिनीको विकास र समृद्धिको लागि सञ्चार क्षेत्रबाट अहिलेसम्म उल्लेखनीय भूमिका निर्वाह भएको छ । म यसको प्रशंसा गर्दछु’ उहाँले भन्नुभयो ‘समाजमा सकारात्मक सोचको विकास गर्न आवश्यक छ । यसमा मिडियाले अझ प्रभावकारी भूमिका खेल्नुपर्छ ।’
सञ्चार माध्यमको सहयोगबिना लुम्बिनीको प्रचारप्रसार विश्वव्यापी बन्न नसक्ने उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रका खबरहरू जनजनका कानमा पुर्याउन सञ्चार माध्यमले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशबाट टेलिभिजन र रेडियो दुवैको नवीकरण प्रक्रिया अघि बढाउन संघीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
‘समृद्धिका लागि सञ्चार नारासहित आयोजना गरिएको टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालामा राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका अध्यक्ष नरेश केसीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्रीहरू, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्