तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन सुरु

रुपन्देही । लुम्बिनीमा शुक्रबारदेखि लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरु भएको छ।

बौद्ध पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वासका साथ सम्मेलन आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले सम्मेलनले लुम्बिनीसहित नेपालभर धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो 

नेपाल पर्यटन व्यवसायी संघ (नाट्टा) को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषलगायत संस्थाहरूको सहकार्यमा सम्मेलन सञ्चालन गरिएको हो।

मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणा अघि बढाइएको जानकारी दिँदै देवदह, रामग्राम, तिलौराकोटलगायत क्षेत्रलाई जोड्दै बौद्ध सर्किट विकासमा प्राथमिकता दिइएको बताए। साथै, लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन र लुम्बिनी विकास प्राधिकरण गठनको तयारी भइरहेको जानकारी समेत दिनुभयो ।

प्रदेश सरकारले प्राचीन स्मारक संरक्षण, डिजिटल सूचना प्रवाह, मेला–महोत्सव आयोजना, होमस्टे प्रवर्द्धनलगायत कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुहुँदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी भएका भारत, चीन, श्रीलङ्का, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्ड्स लगायतका देशका ट्राभल एजेन्ट तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री आचार्यका अनुसार आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशत पुर्‍याउने र आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या २२ लाख नाघ्ने लक्ष्य लिइएको छ। लुम्बिनीलाई संरचना र सेवा सुविधायुक्त आध्यात्मिक अनुसन्धान केन्द्र बनाउँदै विश्व शान्तिको सन्देश फैलाउने दिशामा सरकार लागिपरेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

सम्मेलनमा पर्यटन क्षेत्रका सरोकारवाला, आध्यात्मिक व्यक्तित्व, प्रदर्शक तथा विदेशी प्रतिनिधिहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button