बागलुङमा ७१ जनाको मोतिया बिन्दुको शल्यक्रिया

बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङ र बडिगाड गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७१ जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ ।
धौलागिरि प्रादेशिक अस्पतालको आयोजनामा धौलागिरि आँखा अस्पताल र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ५४ जना र बडिगाड गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ धौलागिरिको सह–आयोजनामा बडिगाडमा सञ्चालित निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर १७ जना बिरामीहरूले लाभ लिएका हुन् ।
शिविरमा शल्यक्रियामार्फत गरिएको उपचारले आँखाको रोग निको भएपछि संसार देखेझै लागेको भन्दै बागलुङ नगरपालिका वडा नं. ८ का यामबहादुर खड्काले खुसी व्यक्त गर्नुभयो । उहाँले लामो समयदेखि मोतियाविन्दुको समस्याले आँखा नदेख्दा सास्ती खेप्दै आउनुभएको थियो ।
शिविरमा ८० जनाको शल्यक्रिया गर्ने लक्ष्य भए पनि कतिपयले पोखरा जाने वा अन्य स्थानमा उपचार गरेकोले यहाँ थोरै भएको आँखा रोग विशेषज्ञ डा. नारायणी भट्टराई रोकाले जानकारी दिनुभयो ।
नेत्र ज्योति सङ्घमार्फत सञ्चालित आँखा अस्पतालले पनि पछिल्लो समय ग्रामीण क्षेत्रमा शिविरमार्फत उपचार गराउन थालेको अध्यक्ष विन्दु सागर राजभण्डारीले बताउनुभयो ।
यस्तै बडिगाडमा भएको शिविरमा बडिगाडका ३ सय ७० जनाको आँखा परीक्षण गरिएकोमा १७ जनाको अपरेशन समेत गरिएको हो । पाल्पा र पोखरा पुग्नुपर्नेहरूले गाउँमै सेवा पाएपछि खुसी भएका छन् ।
उपचार गरेकाहरूलाई गाउँपालिका अध्यक्ष गण्डकी थापाले फलफूल तथा औषधी वितरण गर्नुभएको थियो । उहाँले बिरामीको उपचारमा थप सहयोग गर्ने समेत बताउनुभयो । पालिका तहमै शिविर सञ्चालन गरेर यसअघि पनि बडिगाडले महिलाको पाठेघरको क्यान्सर विरुद्धको स्क्रिनिङ गराएको थियो ।
ग्रामीण क्षेत्रका बासिन्दा सहरमा गएर सिधा उपचार गर्न नसक्ने भएपछि शिविरमार्फत उपचार गराइएको हो । गाउँपालिकाले दिर्घरोग लागेका बिरामीको उपचारमा खर्च समेत सहयोग गर्दै आएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
मोतियाविन्दुको समस्या भएर वर्षौंदेखि रोग पालेर बसेका बिरामीहरूले उपचारपछि राहत पाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्