तपाईँ सुन्दै हुनुहुन्छः

यु–१६ क्रिकेट: दाङले बाँकेलाई ६ विकेटले पराजित गर्‍यो

रुपन्देही । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ । बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो ।

उसका लागि भुवन शाहीले २९ र फर्दिन अली भाटले २२ रन बनाए । बलिङमा दाङका शुभम् खनालले ३, करण जिएमले २ तथा दक्ष ठाकुर र सन्दीप थापाले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको दाङले २२ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा शुभम् खनालले अविजित ३३, मनोज केसीले नटआउट २७, अमिस सेन्चुरीले २७, योगेश्वर कुँवरले १६ र करण जिएमले १० रन बनाए । बलिङमा बाँकेका दिव्यान्स बर्माले ३ तथा निखिल धनकुट्टाले १ विकेट लिए । खेलमा दाङका शुभम् खनाल प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजना र रुपन्देही क्रिकेट सङ्घको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button