रैथाने बाली जोगाउन जोड

चितवन । नेपालमा उत्पादन हुँदै आएको रैथाने बाली जोगाउन तथा संरक्षण गर्न सरोकारवालाले जोड दिएका छन् । रैथाने बालीको संरक्षण र उत्पादनमा आदिवासी जनजातिको प्रमुख भूमिका रहेको भन्दै प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको हो ।
फुड एण्ड एग्रीकल्चर अर्गानाईजेसन( एफएओ)को आयोजनामा सौराहामा आयोजित ‘आदिवासी जनजाति विधिमा आधारित जैविक पुरस्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक पद्धति’ विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले रैथाने बाली लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यशालाको उद्घाटन सत्रमा बोल्दै वाग्मती प्रदेशका वनमन्त्री कृष्ण सिलवालले यहाँका आदिवासीले जङ्गली जनावर र औलो सँग लड्दै रैथाने बाली स्थापना गर्न सहयोग पुर्याएको बताए । ‘यहाँका जल जमिन जङ्गल सँग आदिवासी र जनजातिको गहिरो सम्बन्ध जोडिएको छ, मन्त्री सिलवालले भन्नुभयो, हामी कृषि उत्पादनमा आत्मनिर्भर बन्न पनि रैथाने बालीको संरक्षण गर्न जरुरी छ ।’
अव्यवस्थित शहर, जग्गाको खण्डीकरण, वनजंंगल फडानीले जलवायुमा परिवर्तन भई रैथाने बाली लोप हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । ’हाम्रा रैथाने बीउ बिजन , उत्पादन अब केही छैनन्, सबै आयातित बीउ बिजन र हाइब्रिडमा निर्भर हुनु परेको छ ।’ मन्त्री सिलवालले भन्नुभयो ।
बागमती प्रदेश सभा सदस्य भारती पाठकले देशभर २३ हजार बढी सामुदायिक वन रहेको बताउँदै वन सँगै रैथाने बाली जोगाउनु पर्नेमा जोड दिनुभयो । ‘हाम्रा रैथाने बाली केबल खाद्यवस्तु मात्र होइनन्, यिनले औषधिको रुपमा पनि काम गर्दै आएका थिए, तर अहिले आदिवासी जनजाति सँगै रैथाने बालीको अस्तित्व सङ्कटमा परेको छ ।’ पाठकले भन्नुभयो ।रैथाने बालीको संरक्षण गर्न प्रदेश सभामा छलफल भइरहेको र नीति बनाउन तयारी रहेको समेत उहाँले जानकारी दिनुभयो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका विष्णुकुमारी चौधरीले जनजाति र आदिवासीसँग प्रकृतिको नङ र मासुको सम्बन्ध रहेको भन्दै खेतीयोग्य जमिन, उर्वरा भूमि बनाउन आदिवासी जनजातिको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । रैथाने बाली संरक्षणको लागि सरोकार निकाय, सरकार सबैले हरेक टोल गाउँमा गएर अभिमुखीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रोफेसर डाक्टर शारदा थपलियाले रैथाने बाली र आदिवासी जनजाति एकअर्कामा परिपूरक रहेको बताउनु भयो । रैथाने उत्पादनलाई पुरस्थापना गर्नुपर्ने बताउँदै उहाँले यसलाई जोगाउन विश्वविद्यालय हातेमालो गर्न तयार रहेको समेत बताउनु भयो ।
नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष युवराज जिरेलले आदिवासी जनजातिहरूले नै रैथाने बालीको उत्पादन गर्दै आएको र यसको रक्षा गर्ने प्रमुख दायित्व पनि यही समुदायको रहेको बताउनु भयो । रैथाने बालीलाई सजिलै विकसित मुलुकमा लैजाने प्रबन्ध मिलाउनु पर्ने भन्दै रैथाने बालीको बीउबीजन संरक्षण गरेर आत्मनिर्भर हुनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा एफएओका नेपाल र भुटानका प्रतिनिधि केन सिमीजोले संस्थाले जलवायु परिवर्तनले रैथाने बाली तथा हिमाललाई पारेको असर एवं आदिवासी जनजाति लगायतका मुद्दालाई उठाउँदै आएको बताउनु भयो । अर्का वक्ता योंग फर्नान्जेले कार्यपत्र प्रस्तुत गर्दै विश्वमा आदिवासी जनजातिको अवस्था र उनीहरूको अधिकारका बारेमा जानकारी दिनुभएको थियो । कार्यशाला पाँच दिनसम्म चल्नेछ ।
प्रतिक्रिया राख्नुहोस्