तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बु जिल्ला स्तरीय कविता प्रतियोगितामा निःशब्द प्रथम

सोलुखुम्बु । जिल्ला स्तरीय कविता प्रतियोगितामा सोलुदूधकुण्ड नगरपालिका–११ का शम्भु निःशब्द प्रथम हुनुभएको छ । 

सोलुखुम्बुमा नै पहिलो पटक गठन भएको थुलुङ दूधकोशी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बृहत् कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगितामा लेखनाथ कटेल दोस्रो र निर्मला बस्नेत तेस्रो हुनुभएको छ । 

प्रतियोगितामा ६२ जना कविको सहभागिता रहेको थुलुङ दूधकोशी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुवास संगम राईले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका प्रतिभालाई अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो । 

गोष्ठीका प्रमुख अतिथि तथा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले स्थानीय स्तरमा रहेका प्रतिभा प्रस्फुटन गर्ने यस्ता खालका प्रोत्साहनमूलक कार्यक्रम निरन्तर रुपमा गर्ने बताउनुभयो । प्रतिष्ठानमार्फत गाउँपालिकाले वार्षिक रुपमा साहित्यिक पत्रिका प्रकाशन गर्ने उहाँको भनाइ छ ।

गोष्ठीमा वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङको उपस्थिति थियो भने निर्णायकमा स्वप्निल स्मृति, सोझो गाउँले र रेणुका सोलु हुनुहुन्थ्यो । कार्यक्रममा गायक कुमार प्रयासले श्रवण मुकारुङका गीत गाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button