तपाईँ सुन्दै हुनुहुन्छः

जटिल रोगको जड थाइराइड  

चितवन । कुनैपनि जटिल रोगको मुख्य कारक र रोगलाई थप गम्भीर असर गर्ने थाइराइड भएको चिकित्सकहरूले बताएका छन् । विश्व थाईराइड दिवसको अवसरमा आज पुष्पाञ्जली अस्पताल भरतपुरले आयोजना गरेको थाइराइड सचेतना तथा प्रशिक्षण कार्यक्रममा विभिन्न विधाका चिकित्सकहरूले थाईराइडले अन्य जटिल रोगलाई गम्भीर असर पार्ने बताएका हुन् । 

कार्यक्रममा पुष्पाञ्जली अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी, न्युरो सर्जन कुमार पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रामप्रसाद सापकोटा, बाल रोग विशेषज्ञ डा.किरण देवकोटा तथा भरतपुर अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा.सुनिल शाहले थाइराइड रोगको कारण, असर र निदानका बारे अभिमुखीकरण गर्नुभएको थियो  । 

सो अवसरमा बोल्दै डा. अधिकारीले पछिल्लो समय मधुमेह भन्दा थाईराइड रोग जटिल बन्दै गएको बताउनु भयो  । ‘थाइराइड आफैँमा रोग होइन, तर यसले अन्य जटिल रोग भएकालाई गम्भीर असर पार्दछ, उहाँले भन्नुभयो ।

पछिल्लो समय हरेक घरमा थाईराइडको समस्या रहेको भन्दै उनले ५० प्रतिशत मानिसहरू थाईराइड स्वास्थ्य परीक्षणको पहुँच बाहिर रहेको बताउनु भयो  । ’चाहे मुटुरोगी होस, या मृगौला वा अन्य जटिल रोग थाईराइड हर्मोन घटबढ भएमा यसले त्यस्ता रोगलाई थप जटिल पार्दछ ।’ डा. अधिकारीले भन्नुभयो । 

न्यूरो सर्जन डा. पौडेलले थाइराइड र न्यूरोको सम्बन्ध नजिक रहेको बताउनु भयो । हामीले न्युरो सम्बन्धीका बिरामीको उपचार गर्दा सबैभन्दा पहिले थाइराइड नै चेक गर्छौ, डा. पौडेलले भन्नुभयो, यसको सम्बन्ध सिधा टाउको देखि तल हातखुट्टा सम्म हुने गर्दछ । 

मनोरोग विशेषज्ञ डा. शाहले मानसिक रोग हुने अधिकांश बिरामीमा थाईराईड हुने गरेको बताउनु भयो । ‘अस्पतालमा बिरामीहरू तनाव भयो, खान मन लागेन, निन्द्रा लागेन छटपटी भयो भनेर आउनु हुन्छ तर परीक्षण गर्दा अधिकांशमा थाईराइड देखिएको पाएका छौँ । डा. शाहले भन्नुभयो ।  मानसिक रोग र थाईराइडको लक्षण मिल्दोजुल्दो हुने गरेको उहाँको भनाई छ । 

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सापकोटाले बिशेषगरी गर्भवती महिलामा थाईराइड हुने गरेको बताउनु भयो  । ‘गर्भवती भएका महिलाहरूको परीक्षण गर्दा पछिल्लो समय अधिकांशमा थाईराइड देखिने गर्दछ, उहाँले भन्नुभयो, थाईराइड हर्मोन घटबढ हुँदा बच्चा खेर जाने र जन्मिएको बच्चामा  वृद्धि बिकास समेत कम हुने गर्दछ । 

यसका लागि शुरुमै थाईराइड परीक्षण गरेर औषधि नियमित गरेमा गर्भवती तथा सुत्केरी महिलालाई थप असर नपुग्ने उहाँको भनाई छ । ’अहिले पुरुषमा भन्दा ८ गुणा बढी थाईराइड बढी महिलाहरूमा हुन्छ , उहाँले भन्नुभयो , कारण महिलाको शारीरिक बनोट र अङ्गको काम गर्ने प्रवृत्ति नै फरक हुन्छ ।’ 

बालरोग विशेषज्ञ डा. देवकोटाले बालकहरूमा पनि थाईराइडको समस्या हुने गरेको बताउनु भयो  । ‘अभिभावकहरू बच्चा सुस्त भयो, वृद्धि बिकास कम भयो तथा अन्य असाधारण लक्षण देखा पर्‍यो भनेर आउनुहुन्छ  उहाँले भन्नुभयो, तर चेक गर्दा बच्चामा थाइराइड हर्मोनको घटबढ भएको पाउंँछौं । ’गर्भवती एवं सुत्केरी भएका महिलाहरूमा थाइराइड हुँदा त्यो समस्या बच्चाहरूमा पनि सर्ने गरेको पनि छ ।‘ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button