तपाईँ सुन्दै हुनुहुन्छः

क्यान्भासमा रमाएका बिक्रम (फाेटाे फिचर)

दोलखा । सानै उमेरदेखि कपिका खाली पानाहरूमा चित्र कोरेर रमाउँदा–रमाउँदै कुनै दिन सफल व्यवसायीक चित्रकार बन्छु भन्ने परिकल्पना बिक्रम तमाङले कहिल्यै गरेनन् । तर उनलाई समयले रङ्ग र कुचीसंग खेलाउँदै–खेलाउँदै सफल चित्रकार बनाई दिएको छ । 

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर– ६ नाम्दुका स्थानीयवासी बिक्रमले चित्र कोर्न थालेको बिस बर्ष भन्दा बढी भई सकेको छ । अहिले उनी गर्वका साथ भन्छन्– नेपालको अधिकांश जिल्ला र राजधानीका रेष्टुरेन्टका भित्ताहरूमा मैले कोरेको चित्र नभएका कमै होलान् । पाँचतारे होटल र सहरका भित्ताहरूमा पनि चित्र कोर्न भ्याएको छु । 

काठमाडौँको सुनधारा लगायतका ठाउँका भित्ताहरू र दोलखा सदरमुकाम चरिकोटको चोकका भित्ताहरूमा अहिले बिक्रमको चित्रकलाले सौन्दर्य दिइरहेको छ । 

नाम्दुको बैतेश्वर माविमा कक्षा पाँचमा पढ्दै गर्दा २०५५ सालमा रेडक्रस र मित्सुविसी संस्थाले देशभरी चित्रकला प्रतिस्पर्धा गराएको थियो । दोलखा जिल्लाबाट छनौट भएका बिक्रम त्यो प्रतिस्पर्धामा देशभरिबाट तेस्रो भए । त्यहीबाट उनको चित्रकलाको रुचि व्यवसायीक बाटोतिर अघि बढ्यो । १० वर्षको उमेरमा देशभरी तेस्रो भएर तीन हजार पुरस्कार थापेका बिक्रम त्यसपछि भने चित्रकलाबाट कहिल्यै अलग हुन सकेनन् । उनलाई अहिले पनि याद छ त्यो तीन हजार रुपैयाँबाट बुबाले खसी– बाख्रा सहित घरलाई आवश्यक पर्ने धेरै कुरा किन्नु भएको थियो रे !

२०६५ सालमा एसएलसी परीक्षा दिएपछि उनी चित्रकला अध्ययनकै लागि काठमाडौँको ललितकला क्याम्पस भर्ना भए र त्यहीबाट चित्रकलामा स्नातक सके । देशभरका ६ सयभन्दा बढी रेष्टुरेन्टमा चित्र कोरेका बिक्रमले सयौँ क्यान्भासमा हिमाल, पहाड, जनजीवन र ग्रामीण परिवेशका चित्रहरू कोरेका छन् । उनले बनाएका क्यान्भासका चित्रहरू अमेरिका, बेलायत, नर्वे, फिनल्याण्ड लगायत विश्वका धेरै मुलुकहरूमा पुगेका छन् । 

२०८० सालमा फिनल्याण्डको फिस्कार गाँउमा चित्रकला वर्कशपको लागि पुगेका बिक्रमले फिनल्याण्डका राष्ट्रपति पेकाहविस्तोको समेत चित्र बनाएका छन् । उनले बनाएको चित्र एक लाख पचास हजार रुपैयाँसम्ममा बिक्री भएको छ । विशेषगरी विदेशीहरूले हिमाल, ग्रामीण वस्ति र ग्रामीण जीवनशैलीका चित्रकलाहरू रुचाउने गरेको बिक्रमको अनुभव छ । नेपालका विभिन्न हिमाल र ग्रामीण भेगमा पुगेर फर्किएका विदेशीहरूले त्यो ठाउँका चित्र पाएभने जतिसुकै मूल्य तिरेर पनि किन्ने गरेको बिक्रम बताउँछन् ।

विगतमा चित्रकलालाई व्यवसाय बनाउन कठिन हुनेगरेको भएपनि अहिले दक्ष चित्रकारलाई कामको समस्या नहुने उनको भनाई छ । उनले सञ्चालन गरेको बिक्रम हेन्डिक्राफ्ट एण्ड आर्ट ग्यालरी अन्तर्गत रहेर २०/२५ जना चित्रकारहरू काम गरिरहेका छन् । उनीहरूको दक्षता अनुसार दैनिक पाँच हजारसम्म कमाई गर्ने बिक्रम बताउँछन् ।  

चित्रकलामा रमाउँदाको एउटा घट्नाले उनलाई अहिले पनि रोमाञ्चित गरिरहन्छ । त्यस्तै ७/८ बर्ष अघि उनले काठमाडौँको बौद्धमा सञ्चालन गरेको बौद्ध ग्यालरीमा मुस्ताङको एकजना ज्येष्ठ नागरिक घोडा चढेर मुस्कुराई रहेको चित्र बनाएका थिए । कतै फोटो भेटेर राम्रो लागेकोले बनाएको त्यो चित्र नियाल्दै एकदिन मुस्ताङका एकजनाले ती ज्येष्ठ नागरिकको मृत्यु भएको भन्दै थकथक गरेको उनले सुने । उनलाई त्यो दिन साह्रै नरमाइलो लागिरह्यो । 

त्यसको केही दिन पछि उनै ज्येष्ठ नागरिकको छोराले आफूले पहिलेनै चित्र बनाई सकेको फोटो ल्याएर चित्र बनाइदिन अनुरोध गर्दा उनलाई गज्जब आनन्दित तुल्यायो । उनले यो चित्र पहिलेनै बनाईसकेको बताएपछि ज्येष्ठ नागरिकको छोराले ५० हजार रुपैयाँ दिएर उक्त चित्र लगेका थिए । 

तस्विरहरुः बिक्रम तमाङले कोरेका चित्रहरू

प्रतिक्रिया राख्नुहोस्

Back to top button