गृहमन्त्रीले राजीनामा दिएर सहज वातावरण बनाउनुपर्ने
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूमाथि लागेको आरोप छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर सहज वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले नेपालको संसदीय इतिहासमा यस्ता घटनाहरू यस अघि पनि भएकाले आफु माथी लागेको आरोपको खण्डन गर्न पनि नैतिकताको आधारमा राजीनामा दिएर गृहमन्त्रीले छानबिनको सहज वातावरण बनाउनुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिमा नैतिकताले ठुलो महत्व राख्ने भएकाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको कुरा बाहिर आएकाले यस विषयमा आफूलाई क्लिन देखाउन पनि छानविन समिति बनाएर सत्यतथ्य रुपमा समितिलाई आफूमाथि छानविन गर भनेर भन्न सक्नुपर्ने बत्ताउनुभयो । नेता कोइरालाले यस विषयमा गृहमन्त्रीको संलग्नता नहोला तर आफूलाई क्लिन देखाउन पनि छानविन हुनु जरुरी छ भन्नुभयो ।
यस अघि यस्ता विषय आउँदा डा रामशरण महत, जर्नादन सर्मा, शेरबहादुर तामाङ तथा गोकुल वास्कोटाले राजीनामा दिएको उदाहरण दिनुभयो ।
एक प्रश्नमा उहाँले उच्च पदस्थ कर्मचारीहरूलाई दुई वर्ष कुलिङ पिरियडमा अनिवार्य राख्नु पर्ने बत्ताउनुभयो । उहाँले अहिले २२ देखि २५ जना सचिवहरू कुनै न कुनै संवैधानिक निकायका पद्धहरुमा रहेको बताउँदै उच्च पदस्थ कर्मचारीहरूलाई कुलिङ पिरियडमा नराख्ने हो भने यस्ता निकायहरू पोष्ट रिटार्यमेन्ट क्लब जस्तै हुने बत्ताउनुभयो ।
उहाँले हिन्दु राष्ट्र तथा राजतन्त्रको बहस गरेर समय खेर फाल्नु भन्दा मुलुकमा सुशासन कसरी कायम गर्न सकिन्छ, आर्थिक समृद्धि कसरी ल्याउन सकिन्छ, भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ त्यस विषयमा बहस र छलफल गर्नु आवश्यक रहेको बताउनुभयो ।
नेता कोइरालाले नेपाली काँग्रेसमा महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनुभयो । २०८४ साल मंसिरमा महाधिवेशन गराउन सबै कार्यकर्ताले पार्टीमा दवाब दिनुपर्ने उहाँको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्