तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोले हुम्लाको तिलगाउँमा पाँच करोडको क्षति

जुम्ला । हिमताल भासिएर आएको लेदो सहितको भीषण बाढी पहिरोले हुम्लाको तिलगाउँमा ५ करोड बढीको क्षति भएको छ । 

गत जेठ १ गते राती एक्कासी आएको बाढीले उत्तरी हुम्लाको नाम्खा गाउँपालिका -६ को तिल गाउँमा पाँच करोड बढीको क्षति भएको हो ।

नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्यायले बाढी पहिरो पछि तिल गाउँको खानेपानी,विद्युतीय,सिँचाई कुलो,काठेपूल,खेती योग्य जमिन लगायतको संरचनामा पाँच करोड बढीको क्षति भएको बताउनुभयो । 

तिल गाउँमाथि करिब ५ हजार ३५० मिटरको उचाइमा रहेका २ वटा हिमताल भासिदा आएको भयानक बाढी पहिरोले  ५ वटा काठेपुल, ५०देखि ५५ हेक्टर खेतीयोग्य जमिन, ४ वटा सिँचाइ कुलो, गाउँको खानेपानी आयोजना र १५ किलोवाटको लघु जलविद्युत्‌ लगायतका संरचना गरी ग५ करोडभन्दा बढीको क्षति भएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा घटनास्थलमा पुगेर क्षतिको लगत संकलन गरिएको थियो । क्षतिको विवरण संकलन गरेर समष्टिगत प्रतिवेदन तयार गरि जिल्ला,प्रदेश र सङ्घीय सरकारका सबै निकायमा पठाइएको छ ।

१८ घर परिवारका ३३ जना पहिरोबाट विस्थापित छन् । पहिरो आउने डरले त्रिपालमुनि बस्न बाध्य नागरिकहरू खानेपानी आयोजना क्षतविक्षत भएपछि खोलाकै दूषित पानी पिइरहेका छन् । त्यसले स्थानीयको स्वास्थ्यमा असर पर्ने जोखिम बढेको छ । 

सरकारले पहिरो गएको एक हप्तापछि मात्रै आधारभूत राहत सामाग्री पठाएको थियो । यद्यपि दैनिक उपभोग गर्न पानी दूषित भएपछि शुद्धीकरण गर्ने उपाय नअपनाए संक्रमण फैलिने समेत चिन्ता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button